सिंहदरवारभित्र म्याद सकिएका खाद्य वस्तु, केन्द्रीय क्यान्टिनलाई नै गरियो १० हजार जरिवाना ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारभित्र म्याद सकिएका खाद्य वस्तु, केन्द्रीय क्यान्टिनलाई नै गरियो १० हजार जरिवाना !


१० फाल्गुन २०७७, सोमबार


काठमाडौँ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार भित्रै म्याद सकिएका र अखाद्य वस्तु विक्रिवितरण भइरहेका छन् भन्दा कमैलाई पत्यार लाग्ला तर यहाँ स्थित क्यान्टिन(चमेना गृह)हरूमा उपभोग्य म्याद समाप्त भएका खाद्य वस्तु बिक्री वितरण मात्रै होइन, उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका कामहरू गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शुक्रवार गरेको अनुगमनका क्रममा सिंहदरवारभित्रका शतप्रतिशत क्यान्टिनमा म्याद सकिएका खाद्य सामग्री बिक्री गरेको भेटिएको छ ।

सिंहदरवारभित्रका कर्मचारी र सेवाग्राही लक्षित तीन वटा केन्द्रीय क्यान्टिन(कन्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा सञ्चालित म्यानेजमेन्ट सर्भिस र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरस्थित गोसाईंकुण्ड भोजनालयमा अनुगमन गरिएकोमा तीन वटै मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको हो । जसमध्ये केन्द्रीय क्यान्टिनलाई कारबाही स्वरूप जरिवाना गरिएको छ ।

कन्चन चमेना गृहका नाममा सञ्चालित उक्त क्यान्टिनले कागजात देखाउन नसकेपछि कारबाही स्वरूप १० हजार जरिवाना गरिएको छ । कागजपत्र मात्र होइन, क्यान्टिनको किचनमा फोहोर देखिएपछि सफाइ गर्न समेत निर्देशन दिइएको छ ।

यस्तै अर्थ मन्त्रालय परिसरमा रहेको म्यानेजमेन्ट सर्भिस र उद्योग मन्त्रालयमा सञ्चालित गोसाईंकुण्ड भोजनालयले म्याद सकिएका पानी, पेय पदार्थ र परोठाहरु विक्रिवितरण गरेको पाइएकोले नष्ट गरिएको छ । यति मात्रै होइन, क्यान्टिनमा प्रमाणीकरण नै नभएका तराजु राखिएको पनि पाइएको विभागले जनाएको छ । ती क्यान्टिनहरूबाट ३ हजार १ सय ४५ रुपैयाँ बराबरको पेय पदार्थ र अन्य खाद्य सामग्री बरामद गरी नष्ट गरिएको पनि विभागले जनाएको छ ।

तीन वटै क्यान्टिनलाई आवश्यक कागजपत्र सहित ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशनदिँदै मापदण्ड अनुसार मात्र सञ्चालन गर्न निर्देशनसमेत दिइएको छ ।

सिंहदरवारकै सबैभन्दा राम्रो र व्यवस्थित मानिएको केन्द्रीय क्यान्टिन नै मापदण्ड विपरीत भेटिएपछि कुचुक्क परेका अँध्यारा कोठामा सञ्चालित ‘भट्टी’हरूको अवस्था के होला त्यो आफै अनुमान गर्न सकिन्छ ।

अहिले मात्र होइन, वर्षौँदेखि झुपडपट्टिमा सञ्चालन हुँदै आएका यस्ता क्यान्टिनहरूले परिसरको शोभा घटाएको र देशको बेइज्जत मात्रै होइन, परिसर भित्र कार्यरत हजारौँ कर्मचारी तथा सेवाग्राहीमाथि खेलबाडसमेत भइरहेको छ ।

देशको प्रधानमन्त्रीको कार्यालयदेखि मुख्यसचिवसमेत बस्ने परिसरमै वर्षौँदेखि बिना मापदण्ड र गुणस्तरहीन खाद्य पदार्थहरूको विक्रिवितरण हुनु र स्वयं कर्मचारीहरूले नै सो उपभोग गर्न बाध्य हुनुले बत्ती मुनिको अँध्यारो उखान चरितार्थ भएको एक उपसचिवको भनाई छ । ‘जहाँ नीति निर्माण हुन्छ र जसले त्यसको कार्यान्वयन गर्छन् तिनीहरूकै हविगत यस्तो छ भने अन्यको के कुरा गर्नु’ ती उपसचिवले भने, ‘उच्च पदस्थहरूका लागि मन्त्रालय तथा तारेबाटै बाट खाजा जाने भएपछि बाँकी को त के मतलब र ?’

सिंहदरवारभित्र क्यान्टिन सञ्चालन गर्दा नमुना क्यान्टिन सञ्चालन हुनुपर्ने भए पनि त्यति नै गर्न नसके पनि कम्तीमा मापदण्ड त पुर्‍याउनु पर्ने उनको भनाई छ ।

त्यसो त यस अघि प्रधानमन्त्रीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख एवं प्रवक्ता विनोद बहादुर कुँवरको संयोजकत्वमा गठित समितिले सिंहदरवार परिसर सरसफाइदेखि गुणस्तरहीन खाना खुवाउने दर्जनौँ क्यान्टिनहरू बन्द गराएका थिए । तर उनी सरुवा भएको केही समय पछि परिसर पुरानै अवस्थामा फर्किँदै मात्रै छैन, झुपडपट्टिका क्यान्टिनहरूसमेत पुनः सञ्चालन हुन थालेका छन् ।

सम्बन्धित समाचार : सिंहदरवारका क्यान्टिन अव्यवस्थित र फोहोर

सम्बन्धित समाचार : सिंहदरवारमा क्यान्टिन : पेन्टका बट्टामा राखिन्छ दालभात

सम्बन्धित समाचार : परराष्ट्रको चमेना गृहमा काग ग्राहक !

सम्बन्धित समाचार : सिंहदरवारका खाजा घर भित्र नपसी खुट्ट्याउनै मुस्किल ! (फोटो फिचर)

राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वकै निकायमा हुने गरेको यो लापरबाहीबाट पनि अनुमान गर्न सकिन्छ कि हामी स्वास्थ्यप्रति कति सजग छौँ !

सहसचिव कुँवरसहित कार्यालयका प्रशासन शाखाका सुरथ पोखरेल, झविन्द्र पाण्डे, सालिकराम कोइरालालगायतको टोलीले प्रत्येक मन्त्रालयस्थित प्रशासन महाशाखासँग समन्वय गरेर महिना दिन लगाएर सयौँ टिप्पर फोहोरहरू सफा गरेको थियो ।

सम्बन्धित समाचार : कुरूप बन्दै सिंहदरवार

सम्बन्धित समाचार : कहिले हट्लान सिंहदरवारका अव्यवस्थित टहरा ?

सम्बन्धित समाचार : सिंहदरवारको फोहोर व्यवस्थापनमा चासो

सम्बन्धित समाचार : ‘कवाड’ गाडीको विवरण पठाउन अल्टिमेटम

सम्बन्धित समाचार :  बोल्ड निर्णयको पर्खाइमा सिंहदरवारका सवारी !

सम्बन्धित समाचार : व्यवस्थित बन्दै सिंहदरवारको पार्किङ

सम्बन्धित समाचार : सिंहदरवारमा एकीकृत सफाइ

सम्बन्धित समाचार : सिंहदरवारमा बृहत्तर सफाइ(फोटो फिचर)

सम्बन्धित समाचार : सिंहदरवारमा उमेर अनुसार छुट्टाछुट्टै उद्यान

सम्बन्धित समाचार : सिँहदरवारमा नेपाली सेना : सरसफाइदेखि सुरक्षासम्म(फोटो फिचर)

सम्बन्धित समाचार : वर्ष २०७५ मा सिंहदरवार : हरियालीयुक्त सफा सुग्घर, कवाडीखानाबाट मुक्त

सम्बन्धित समाचार : गरे हुन्छ, नपत्याए हेनुहोस्(फोटो फिचर)

सम्बन्धित समाचार : आहा सिंहदरवार !

सुधार व्यक्तिको इच्छाशक्तिमा निर्भर रहने परम्परालाई तोड्दै यसलाई संस्थागतरुपमा ढाल्न सके बल्ल सिंहदरवारको सान रहने थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस