वर्ष २०७५ मा सिंहदरवार : हरियालीयुक्त सफा सुग्घर, कवाडीखानाबाट मुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वर्ष २०७५ मा सिंहदरवार : हरियालीयुक्त सफा सुग्घर, कवाडीखानाबाट मुक्त


३० चैत्र २०७५, शनिबार


काठमाडौँ । वर्ष २०७५ सिंहदरवारका लागि हरियाली, सरसफाइ र व्यवस्थित गराउने वर्षका रूपमा रह्यो ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्रबिन्दुका रूपमा रहेको भए पनि अव्यवस्थित, फोहोर तथा थोत्रा सवारीले कवाडीखाना जस्तै बनेको सिंहदरवारलाई समिति नै बनाएर हरियालीयुक्त व्यवस्थित बनाउने काम भयो ।

सिंहदरवार परिसर व्यवस्थापन सम्बन्धमा २०७५ भदौ ३१ मा मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन महाशाखाका सहसचिव विनोद बहादुर कुँवरको संयोजकत्वमा गठित  ‘सिंहदरवार परिसर अनुगमन समिति’ ले गरेका केही परिणाममुखी कार्यहरू यस्ता रहे ।

सिँहदरवारका कवाड गाडी व्यवस्थापन
सिंहदरवार परिसर अनुगमन समितिको असोज १८ गते बसेको बैठकको बुँदा नं. ८ अनुशार सिंहदरवारभित्रका सवारी साधन व्यवस्थापन गर्न सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिडिईको संयोजकत्वमा विभिन्न मन्त्रालयका अधिकारीसहितको उपसमिति गठन गर्दै प्रयोगमा नल्याई थन्क्याएर राखेका तथा चालू हालतमा नरहेका सवारी साधनहरूको मर्मत सम्भार गरी सञ्चालन गनृ उपयुक्त सवारीको लागत अनुमान तयार गरी मर्मत सम्भार पश्चात् चलाउन सकिने तथा लिलाम नै गर्नुपर्ने सवारीको अभिलेख तयार पा¥यो

स्थलगत अवलोकनपछि अधिकांश सवारीहरू न्यूनतम लागतमा मर्मतपछि सञ्चालनमा आउन सक्ने देखिएपछि गाडी नै भएन भन्ने स्थानीय तहको गुनासो सम्बोधन हुने देखियो । सिंहदरवारभित्र रहेका करिब पाँच सय यस्ता सवारीमध्ये अधिकांश सवारीहरू स्थानीय तहमा वितरण गरिएको छ । जसले सिंहदरवार परिसरलाई सफा मात्रै बनाएन, तत्काल गाडीका लागि खर्च हुने ठुलो धनराशि समेत जोगियो ।

सिंहदरवारमा ट्राफिक व्यवस्थापन
नियम कानुन बनाउने र कार्यान्वयन गराउने मुख्य अड्डा सिंहदरवारको सवारी व्यवस्थापन यतिसम्म अव्यवस्थित थियो कि पुलिसका स्टार गाडिदेखी मन्त्रीका झन्डावाल गाडीसम्म सडक पेटीमा पार्किङ गर्ने गरेको थियो । सचिव, सहसचिव तथा अन्य सवारी हुनेहरूले गर्ने गरेको भद्रगोल पार्किङको त कुरै छोडौँ ।

प्रशासन डटकमको निरन्तरको खबरदारीपछि सिंहदरवारभित्र ट्राफिक प्रहरी नै खटाएर सवारी व्यवस्थापन गर्न लगाइयो । सवारी व्यवस्थापनका क्रममा जिम्मेवार पदाधिकारीहरूबाटै अटेरी गर्नेदेखि ट्राफिक प्रहरीको जागिर खाइदिने धम्कीसम्म दिए । अझै पूर्णरुपमा व्यवस्थापन हुन सकिरहेको छैन तर पहिले जस्तो पेटीमा पेटीमा सवारी भने देखिँदैनन् । जसले गर्दा केहि हदसम्म सिंहदरवारलाई ब्यबस्थित बनाउन सघाउ पुगेको छ ।

चमेना गृह व्यवस्थापन
सफा र व्यवस्थित हुनुपर्ने चमेना गृहको आधारभूत मापदण्ड हो । तर सिंहदरवारस्थित विभिन्न मन्त्रालयमा मन खुसी चलाइएको चमेना गृह न सफा  थिए  न त व्यवस्थित नै । कतै पेन्टको बट्टामा खाना राखेर कर्मचारीलाई खुवाउने गरेको त कतै काग ग्राहकसम्मै रहेका सिंहदरवारका चमेना गृहहरू तत्काल बन्द गर्नेदेखि व्यवस्थित गर्ने काम भएको छ । अझै धेरै चमेना गृहहरुमा सरसफाई कायम भने गराउन भने बाकि नै छ ।

बगैँचा व्यवस्थापनदेखि हरियाली कायम गर्नेसम्म
मनोरम बगैँचा, व्यवस्थित कार्यालय तथा सफा परिसरको रमणीय दृश्यको परिकल्पनामा सिंहदरवार प्रवेश गर्नेको चाहना पुरा हुन धेरै बेर लाग्दैन भनेका प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्त्ता तथा सिंहदरवार परिसर अनुगमन समितिका संयोजक विनोद बहादुर कुँवरको भनाइले यति बेला सार्थकता पाएको छ । परिसरभित्र कुना कन्दरा मात्रै होइन, मन्त्रालयको आँगन अगाडी नै थुपारिएको फोहोरको डुँगुर हटाएर बनाएको बगैचाहरुमा यति बेला ढकमक्क फुलहरू फुलेका देखिन्छन् । कुना काप्चामै पुगेर उठाएको फोहोर फाल्न मात्रै हप्तौँ लाग्यो । ती ठाउँमा बगैँचा बनाई फलफुलका बोटहरू रोपियो । जसले अहिले सिंहदरवारलाई हरियाली र सुन्दर बनाएको छ ।

मन्त्रालयले थोत्रा गाडीहरू थुपार्ने र फोहोरहरू जम्मा गर्ने ठाउँमा दुबोसहितको बगैँचा बनाइएको छ । केही समय अघि रोपेका फुलहरू फुलेर ढकमक्कै देखिएका छन् । दैनिक कार्यालय आउने मात्रै होइन, काम विशेषले कहिले काहीँ सिंहदरवार प्रवेश गर्नेहरूले नाक खुम्च्याउनु पर्ने अवस्था अहिले छैन ।

डिजिटल ल्याण्डस्केप मास्टर प्लान
सिंहदरबार परिसरलाई सुन्दर बनाउन डिजिटल ल्याण्डस्केप मास्टर प्लान नै बनाएर काम थालनी भएको छ ।

जस अनुसार २०३० सालपछि बनेका भवनहरूलाई सिंहदरबारको मूल कला र स्वरूपसँग सुहाउने गरी बाहिरी रूप बदल्न, सिंहदरबार पश्चिम गेट लगायत संरचनाको सरसफाइ तत्काल प्रारम्भ गर्न र सिंहदरबारका भत्काउनुपर्ने तथा पुनर्सबलीकरण(रेट्रोफिटिङ) गर्नुपर्ने भवन तथा संरचनाहरूको यकिन गरी तत्काल काम थाल्न निर्देशन दिनुका साथै मन्त्रालयले सिंहदरबार परिसरको वेस्ट वाटर ट्रिटमेन्ट सिस्टम निर्माण गर्न, सरोकारवाला निकायहरूसँग समन्वय गरी टेलिफोन केवल तथा बिजुली लगायतका तारहरू भूमिगत गर्न, भूकम्पबाट सिर्जित अवशेष हटाउन तत्काल कार्य प्रारम्भ गर्न, मन्त्रालयपिच्छे रहेका क्यान्टिनहरू हटाई सहरी विकास मन्त्रालयले एकीकृत क्यान्टिनको व्यवस्था मिलाउन तत्काल कार्य सुरु गर्न, चालु आर्थिक वर्षमा सिंहदरबार भित्रका प्रत्येक भवनमा फ्लड लाइट जडान गर्न, सिंहदरबारका भवनहरूमा चुना प्रयोग नगरी स्थायी रङ्गको प्रयोग गर्ने व्यवस्था मिलाउन, तीन महिनामा गृह मन्त्रालय पश्चिम तर्फको गेटलाई कलात्मक बनाउन र सो प्रवेशद्वारदेखि गृह मन्त्रालयसम्मको बाटो निर्माण एवं मर्मत गर्न, गृह मन्त्रालयको समन्वयमा सम्भव भएसम्म सिंहदरबार प्रवेशका सबै गेटहरूमा सवारी साधन तथा पैदलयात्रीका लागि दुई महिनामा बाटो खुलाउन, गृह मन्त्रालयसँग समन्वय गरी सिंहदरबार प्रवेश गर्दा जाँच गर्ने स्थान र प्रणालीमा सुधार गरी आधुनिक बनाउनु पर्नेछ ।

यस्तै, सिंहदरवारका सबै बगैँचाको एकीकृत ठेक्का लगाउन, सिंहदरबारको बाहिरी पर्खाललाई कलात्मक र सुन्दर बनाउने कार्य तत्काल सुरु गर्न, प्रत्येक मन्त्रालयको भित्री सरसफाइ रंगरोगनको नियमित रूपमा अनुगमन गर्न, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी पुरातात्विक महत्त्वका भवन र संरचना लिस्टिङ गरी संरक्षण गर्न, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी सिंहदरबारको इतिहास सहितको म्युजियम तयार गर्न, सिंहदरबार परिसरका सवारी साधन पार्किङ संरचना तयार गर्ने कार्य तत्काल प्रारम्भ गर्न, सडकपेटीमा सवारी साधन राख्न नमिल्ने गरी व्यवस्थापन गर्न मन्त्रालयलाई दिएको निर्देशन अनुसार तत्काल गर्न सकिने काम पुरा भएको छ भने बाँकी निरन्तर जारी छ ।

पानीले पखाल्नेदेखि बु्रमरले बढार्नेसम्म
सिंहदरवारस्थित सरकारी कार्यालयहरूलाई पानीको फोहोराले पखालेर भएपनि सफा गरिएको छ । भित्र मात्रै होइन, बाहिरी स्वरुप नै असाध्यै मैलो तथा धुलाम्य देखिएपछि यसपछि सम्बन्धित कार्यालयले नै निरन्तरता दिने गरी पहिलो चरणमा सबै मन्त्रालयहरु तथा सडकहरु पखालेर सफा गरिएको छ । सदियौँदेखि धुलोले मैला बनेका मन्त्रालयहरूमा हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पानीले पखालेर सफाइ गरियो । जसले गर्दा बाहिरी आवरण केही सफा त देखियो नै सरसफाइ राख्न समेत घचघच्यायो ।

छाउगोठ, स्याल झाडी तथा भग्नावशेष हटाउने
स-साना टहरा । जताततै झार । केही अस्तव्यस्त त केही क्षतिग्रस्त । केही महिना अघिसम्म सिंहदरवारमा देखिने दृश्य थियो यो । कतै छाउपडी गोठ जस्ता त कतै स्याल झाडी रहेको सिंहदरवार परिसरभित्रका दर्जनौँ भग्नावशेषहरू हटाएसँगै यसको स्वरूप फेरिएको छ ।

रक्षा मन्त्रालयदेखि गृह मन्त्रालयसम्मै रहेको चारकोषे झाडीलाई व्यवस्थित बनाइएको छ । जहाँ कुकुरहरूले बच्चा हुकाउनेदेखि फोहोरहरू थुपार्ने ठाउँ बनाइएको थियो । अहिले ती ठाउँहरू डोजर लगाएर सुमसुम्याइएको छ । कतिपय ठाउँहरूमा फलफुल रोपिएको छ भने कतिपय ठाउँहरूमा बगैँचा बनाएर फुलहरू रोपिएको छ ।

यससँगै २०७२ सालमा गएको विनाशकारी महाभूकम्पले भत्केका भग्नावशेषहरूसमेत हटाइएको छ ।

रात्रिकालीन रौनकता
यति बेला सिँहदरवारको रात्रिकालीन रोनकतासमेत बढेको छ । केही दिन अघिसम्म चकमन्न अँध्यारो हुने सिँहरवारमा बत्तीहरू जडान गरिएसँगै झलमल्ल उज्यालो छाएको छ । सिंहदरवार व्यवस्थापन गर्न गठित ‘सिंहदरवार परिसर अनुगमन समिति’ले अघि सारेका विभिन्न २६ वटा सुधारका योजनाहरू अन्तर्गत उद्यानहरूमा बत्ती जडान गर्ने काम सम्पन्न भइसकेको छ भने सडक बत्तीहरू जडान कार्य तिव्ररुपमा अघि बढाएसँगै यति बेला सिँहदरवार राति पनि झलमल्ल उज्यालो देखिएको छ ।

दर्जनौँ कर्मचारीको महिनौँको अथक प्रयासपछि सिंहदरवारले बिस्तारै आफ्नो स्वरूप लिँदै छ । सदियौँदेखिको कुरुपताबाट सुन्दरतातर्फ अग्रसर हुँदैछ । तर, यसको निरन्तरता सबैभन्दा महत्त्वपूर्ण कुरा भएकोले त्यसका लागि समयमै ध्यान पु¥याउन सके साच्चिकै सिँहदरवार सुन्दर, हरियालीयुक्त, सफा तथा नेपाली मौलिकताको अनुपम प्रशासनिक केन्द्र बन्न धेरै समय लाग्ने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस