सर्लाही । सर्लाही जिल्लामा लागूऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले ठुलो परिमाणको गाँजासहित पक्राउ गरेको छ। घटनामा प्रयोग भएको अटोरिक्सा समेत नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ब्रह्मपुरी गाउँपालिका-२ स्थित धर्मपुर टोलको कठिपुल क्षेत्रमा नियमित गस्तीका क्रममा हरिवनबाट नरिवनतर्फ गइरहेको मधेश प्रदेश ०३-००१ ह ४५१७ नम्बरको अटो जाँच गर्दा उक्त गाँजा फेला परेको हो।
प्रहरीले अटोको डिकी र सिटमुनि रातो प्लास्टिकमा बेरेर लुकाइएका १२ वटा पोकाभित्र गरी जम्मा ६० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। बरामदपछि उक्त अटो र गाँजासहित चालक तथा यात्रु दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सर्लाहीको बागमती नगरपालिका–११ सखुवनी बस्ने ३५ वर्षीय थिरविक्रम रायमाझी र सोही स्थानका ३५ वर्षीय प्रदीप मगर रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट ६ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ।







