२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनजन्य विपद् सामना गर्न नेपाली सेना ‘हाई अलर्ट’मा, देशभर बहुआयामिक तयारी

अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा प्राकृतिक विपद्को जोखिम बढ्दो क्रममा छ। नेपाल पनि बाढी, पहिरो, भूकम्प, डुबान, आगलागीलगायतका विपद्को उच्च जोखिममा पर्ने मुलुकमध्ये एक हो। यही चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनका लागि बहुआयामिक तयारीलाई तीव्र बनाएको छ।

नेपालको संविधानले विपद् व्यवस्थापनमा तोकेको जिम्मेवारीअनुसार नेपाली सेनाले विपद् पूर्वतयारी, खोज तथा उद्धार, राहत वितरणदेखि पुनःस्थापनासम्मका कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। सेनाले आवश्यक जनशक्ति, साधन-स्रोत तथा अन्तरनिकाय समन्वयलाई थप सुदृढ बनाउँदै विपद्को अवस्थामा शीघ्र प्रतिकार्य गर्न सक्ने क्षमता अभिवृद्धि गरेको जनाएको छ।

सेनाका अनुसार आवश्यक जनशक्ति तथा उपकरणको पूर्वतैनाथी, नियमित तालिम, संयुक्त अभ्यास तथा संघ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकायबीचको समन्वयलाई प्रभावकारी बनाइएको छ। यसले विपद्को समयमा तत्काल प्रतिकार्य गर्ने क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको सेनाको भनाइ छ।

यस वर्षको सुरुआती मनसुनमै सेनाको सक्रियता देखिएको छ। असार २१ गते आइतबार डोल्पा जिल्लाको धुलाखोला क्षेत्रमा आएको बाढीबाट प्रभावित स्थानीयको उद्धार गर्नुका साथै घाइते ४४ वर्षीया एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्‍याई थप उपचारको व्यवस्था गरिएको थियो। यस्ता घटनाले नेपाली सेना खोज तथा उद्धारमा मात्र सीमित नभई जीवनरक्षा तथा आपत्कालीन स्वास्थ्य सेवामा समेत अग्रपङ्क्तिमा रहेको पुष्टि गरेको छ।

विपद् व्यवस्थापनमा लामो अनुभव
नेपाली सेना विगतदेखि नै देशका ठूला प्राकृतिक तथा मानवीय विपद्मा अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको संस्था हो। १९९० सालको विनाशकारी भूकम्पदेखि २०३० सालको सिंहदरबार आगलागी, २०४५ सालको उदयपुर भूकम्प, २०५० सालको मध्य नेपालको भीषण बाढी, २०६५ सालको कोशी बाढी, २०६६ सालको जाजरकोटमा फैलिएको झाडापखाला तथा हैजाको महामारी, २०७१ सालको सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको महाभूकम्प, २०७६ सालको कोभिड–१९ महामारी, २०८० सालमा बझाङ, रुकुम पश्चिम र जाजरकोटमा गएको भूकम्प तथा २०८१ सालको बाढी–पहिरो र डुबानका घटनामा सेनाले खोज, उद्धार तथा राहत कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

नेपालभित्र मात्र होइन, २०८१ चैत २० गते मित्रराष्ट्र म्यानमारको मेन्डेले क्षेत्रअन्तर्गत यामाथिन जिल्लामा गएको विनाशकारी भूकम्पका बेला पनि नेपाली सेनाले अन्तर्राष्ट्रिय मानवीय सहयोगमा सहभागिता जनाउँदै आफ्नो क्षमता प्रदर्शन गरेको थियो।

तीन चरणको रणनीतिक तयारी
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार यस वर्षको मनसुनलाई लक्षित गर्दै सेनाले तीन चरणमा विशेष तयारी अघि बढाएको छ।

पहिलो चरणअन्तर्गत विगतका विपद्का घटनाको अध्ययन–विश्लेषण गरी विपद् प्रतिकार्य योजनालाई परिमार्जन गरिएको छ। जंगी अड्डादेखि स्थानीय तहसम्म ‘हातेमालो’ लगायतका संयुक्त अभ्यास सञ्चालन गरी सम्पूर्ण फौजलाई उच्च तयारी अवस्थामा राखिएको छ।

दोस्रो चरणमा आवश्यक स्रोतसाधनसहित पूर्वतैनाथीलाई तीव्र बनाइएको छ। गण तथा गुल्महरूमा तत्काल परिचालन हुन सक्ने सैनिक टोली तयारी अवस्थामा राखिएको छ भने पृतनाहरूमा राहत सामग्रीसहितका ‘कम्पोजिट सर्च एन्ड रेस्क्यु’ टोली स्ट्यान्डबाई अवस्थामा छन्।

संभावित बाढी र पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै धादिङको गजुरी, चितवनको भरतपुर र बारामा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ। काठमाडौंमा यान्त्रिक पुल, आकस्मिक चिकित्सा सेवाका लागि फिल्ड अस्पताल तथा इमर्जेन्सी स्वास्थ्य सेवासमेत तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।

हवाई उद्धारदेखि राहत सामग्रीसम्म तयारी
मनसुनका बेला सडक सञ्जाल अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गर्दै नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकतामा राखेको छ। देशका केही स्थानमा हेलिकप्टर पूर्वतैनाथी गरिसकिएको छ भने आवश्यकताअनुसार तत्काल परिचालन गर्न काठमाडौंमा थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

यस्तै, बागमती ड्याम क्षेत्रमा हालै हवाई उद्धारसम्बन्धी विशेष अभ्यास सम्पन्न गरिएको छ। उद्धारपश्चात् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सुन्दरीजलस्थित राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयको रेस्क्यु स्टोरमा ५०० वटा त्रिपाल तथा तिनका लागि आवश्यक खम्बा, बलो, चोभा र डोरी तयारी अवस्थामा राखिएको छ। आवश्यक परे थप राहत सामग्रीसमेत तत्काल परिचालन गर्न सकिने प्रवक्ता बस्नेतले जानकारी दिए।

बेलिब्रिज जडानमा सेनाको सक्रियता
विपद्का कारण अवरुद्ध सडक सञ्जाललाई छिटो सञ्चालनमा ल्याउने तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउने कार्यमा नेपाली सेनाले प्रभावकारी भूमिका खेल्दै आएको छ। बाढी र पहिरोले भत्काएका महत्त्वपूर्ण सडक तथा पुललाई पुनः सञ्चालनमा ल्याउन सेनाले बेलिब्रिज निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ।

मनसुनका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढीले बगाएको बेलिब्रिज नेपाली सेनाले पुनः जडान गरी आवागमन सहज बनाएको छ। त्यसैगरी सुनकोशी नदीमा बाढीले क्षति पुर्‍याएको बेलिब्रिज पनि सेनाले पुनर्निर्माण गरिसकेको छ। सिन्धुपाल्चोकको अरुण राजमार्गमा समेत बेलिब्रिज निर्माण गरी सडक सम्पर्क पुनः स्थापित गर्न सेनाले सक्रिय भूमिका निर्वाह गरेको छ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले देशभरका ७७ वटै जिल्लामा आफ्ना फौजलाई तयारी अवस्थामा राखेको छ। विपद्को सूचना प्राप्त हुनासाथ स्थल तथा हवाई मार्गबाट उद्धार टोली परिचालन गर्न सकिने व्यवस्था गरिएको सेनाले जनाएको छ।

उद्धारसँगै स्वास्थ्य सेवालाई पनि उच्च प्राथमिकता दिइएको छ। त्यसका लागि विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसहितका मेडिकल टोली तयारी अवस्थामा राखिएका छन्। यी टोलीले विपद्पीडित नागरिकलाई घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउनुका साथै आवश्यक परे अस्पतालसम्म सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था गर्नेछन्।

समुदायसँगको सहकार्यमा जोड
विपद् व्यवस्थापन सरकारी निकायको मात्र जिम्मेवारी नभई समुदायको पनि साझा दायित्व भएको निष्कर्षसहित नेपाली सेनाले स्थानीय तहमा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरिरहेको छ।

तालिममार्फत स्वयंसेवक तयार गरी स्थानीय सरकार, सुरक्षा निकाय तथा अन्य सरोकारवालासँग समन्वय गर्दै विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने रणनीति सेनाले अघि सारेको छ। विपद्को समयमा स्थानीय तहमै तत्काल उद्धार तथा प्रारम्भिक प्रतिकार्य गर्न सक्ने दक्ष जनशक्ति तयार गर्नु नै सेनाको प्रमुख उद्देश्य रहेको जनाएको छ।

मौसमको सूचना पालना गर्न आग्रह
नेपाली सेनाले आम नागरिकलाई नेपाल सरकारबाट जारी हुने मौसम पूर्वानुमान नियमित रूपमा पालना गर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा विपद्को घटना भए तत्काल स्थानीय वा जिल्ला विपद् व्यवस्थापन समिति, नजिकको प्रहरी युनिट वा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा जानकारी गराउन आग्रह गरेको छ।

बढ्दो जलवायु संकटसँगै विपद्को स्वरूप दिनप्रतिदिन जटिल बन्दै गइरहेका बेला नेपाली सेनाले प्रविधि, तालिम, पूर्वतयारी र बहुनिकाय समन्वयलाई केन्द्रमा राखेर मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्ने तयारीलाई थप सुदृढ बनाएको जनाएको छ। सेनाका अनुसार विपद् आउनुअघि गरिने योजनाबद्ध तयारी नै ठूलो जनधनको क्षति रोक्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले यस वर्षको मनसुनमा पनि नेपाली सेना उच्च सतर्कता, पूर्ण तयारी र शीघ्र प्रतिकार्य क्षमतासहित देशभर परिचालन हुन तयार रहेको स्पष्ट पारेको छ।

0 Comments