सिंहदरवारमा उमेर अनुसार छुट्टाछुट्टै उद्यान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरवारमा उमेर अनुसार छुट्टाछुट्टै उद्यान


२२ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । तपाईँ सिंहदरवारभित्र कार्यरत कर्मचारी हुनुहुन्छ ? त्यसो हो भने तपाईँका लागि खुसीको खबर छ । सिंहदरवार परिसरमा विभिन्न उद्यान बनिरहेका छन् । अबको केही दिनभित्रै ती उद्यान सञ्चालनमा आउँदैछन् । तपाईँ त्यहाँ गएर थकान मेट्न सक्नुहुन्छ ।

दिनभरिको कार्यालयको कामले कर्मचारीहरूलाई थकान लाग्नु स्वभाविकै हो । कामको चापले कहिलेकाहिँ त निकै गलिन्छ ।

जहिल्यै काम, त्यसैमाथि हाकिम सा’पको लगाम । उफ् ! एकैछिन भए पनि आनन्दसँग बस्न पाए पनि हुन्थ्यो भन्ने कर्मचारीले सोच्नु पनि स्वभाविकै हो । तर, जाने कहाँ ? त्यस्तो ठाउँ नै कहाँ छ र ?

बाहिर रिसोर्ट या कुनै पार्क ? ओहो त्यो त सोच्दै नसोच्नुस् । सरकारी जागिरेले रिसार्टहरूको आनन्द लिने परिकल्पना गर्नु त दिउँसै तारा देख्नु बराबर हुन्छ ।

काठमाडौंजस्तो कंक्रिटको सहरमा हरीयाली पार्कको कुरा गर्नु ‘बर्खामा आँखा फुटेको गोरुले जहिल्यै हरियो देख्छ’ भन्याजस्तै हो ।

त्यसो भए अब सिंहदरवारमा जागिर खानेहरूका लागि प्राकृतिक आनन्द पाउने कुरा सपना जस्तै हो त ? पक्कै होइन, बरु तपार्इँको उमेर कति भयो ?

भर्खरै लोक सेवा पास गरेर आउनुभएको छ भने पक्कै पनि युवा नै हुनुहुन्छ होला ? तपाईँहरूका लागि रोज गार्डेन हाजिर छ ।

युवा कर्मचारीका लागि रोज गार्डेन
मन जति बहलाउन सक्नुहुन्छ, बहलाउनुहोस् । सयौं थरिका रंगीविरंगी गुलाबहरूले तपार्इँको दिनभरिको थकानलाई एकैछिनमै मेटाइदिन्छ । त्यति मात्रै होइन, केही समयको बसाईले काममा नयाँ ऊर्जा पनि थपिने छ ।

यसले तपाईँको सोचाईमा परिवर्तन ल्याइदिन्छ, सेवाग्राहीप्रतिको व्यवहारमा परिवर्तन ल्याइदिन्छ । समग्रमा तपाईँको जागिरे जीवनमा नै सकारात्मकता ल्याइदिन्छ ।

भर्खरैको हुनुहुन्छ ? लभमा पर्नु भा’छ भने पनि रोज गार्डेनमा टहलिँदै आफ्नो प्रेमीपे्रमिकासँग गफिनुहोस् । पक्कै तपाईँको कुरा सौहार्दपूर्ण हुनेछ । केही कुरामा रिसाउनुभएको छ भने पनि यहाँको वातावरणले तपार्इँभित्र प्रेम भरिदिने छ ।

अहिलेसम्म लभ परेको छैन भने पनि पार्कमा गयो भने प्रेमको अंकुरण हुनेछ । मनमा कुतकुति लाग्ने छ । एक्लै मुस्कुराउन थाल्नुहुनेछ । यसले तपाईँलाई कहिँ घाटा हुने छैन, बरु फाइदै फाइदा छ ।

सहरीया जीवनशैली । उस्तै तडकभडक । मन न हो । कहिलेकाहिँ विचलित भइहाल्छ । दुई जना भेट भयो तेस्रो व्यक्तिको कुरा । त्यो पनि प्रगति, उन्नति वा कुनै सद्गतिको भए पनि एक हो, अलानो, फलानो भन्दै इष्र्या, डाह मात्रै । यस्तो परिस्थितिबाट जोगिन पनि तपाईँका लागि तयार छ, रोज गार्डेन ।

उमेर ढल्कदै गएकाहरूलाई जडीबुटी गार्डेन
तपाईँको उमेर ढल्कँदै गएको छ ? पेट ढुस्स भइरहने, काम गर्न अल्छी लाग्ने या हाइ काडेर बस्नुभएको छ भने तपाईँ हर्बल पार्कमा गएर एक फन्को मारेर आउनुहोस् । विभिन्न थरिका जडीबुटीहरूको बास्नैले तपाईँ स्फुर्त हुनुहुनेछ ।

अध्ययनका लागि साइटिस गार्डेन
लोपोन्मुख प्रजातिका वनस्पतिबारे जान्ने वा बुझ्ने चाहना छ ? त्यसो भए तपाईँ साइटिस गार्डेनतर्फ मोडिनुहोस् ।

नेपालका सबै भूगोल र हावापानीमा पाइने दुर्लभ तथा संकटापन्न बहुमुल्य वनस्पतिहरू अव सिंहदरवारभित्रका उद्यानमा अवलोकन गर्न पाइने छ ।

यहाँ अति दुर्गम हिमालीदेखि पहाडी र तराईका फरक फmरक हावापानीमा पाइने वनस्पतिहरू देख्न सकिने छ ।

पार्क निर्माण गरिएसँगै सिंहदरवारमा हरियाली छाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवर प्रधानमन्त्रीको सबै जमिन भिर, पाखा सदुपयोग गर्ने निर्देशन अनुसार सिंहदरवारभित्र गार्डेन बनाइएको बताउँछन् । उनले सिंहदरवार हरियाली गर्न वन, कृषि, वातावरणलगायत सम्बन्धित मन्त्रालयलाई बताइसकेको बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको सदुपयोगको सिद्धान्त अनुशा सिंहदरवारभित्रका कुना काप्चा ‘ब्युटिफिकेसन’ गर्ने योजना छ,’ प्रवक्ता कुँवरले भने ।

काठमाडौं सहरमै खुला पार्कको अभाव खड्किएको महसुस गरिरहेकै बेला सिंहदरवारमा काम गर्ने कर्मचारीकै लागि भए पनि कम्तिमा बगैचाहरू त बन्दैछन् ।

देशको मुख्य प्रशासनिक अड्डा वातावरणमैत्री र सुन्दर बनाउनु अत्यन्तै राम्रो हो । तर, नेतृत्व परिवर्तनसँगै एकादेशको कथा नबनाइयोस् । सिंहदरवारभित्रका सबै झाडीहरू सफा गरेर उद्यानमा परिणत गरियोस् ।

र यो पनि :

आहा सिंहदरवार !

Tags :
प्रतिक्रिया दिनुहोस