सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं


६ फाल्गुन २०७४, आइतबार


नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको आपसी समन्वय तथा सहकार्यमा सञ्चालित छ, लघुवित्त कार्यक्रम । यो कार्यक्रममार्फत बहालवाला सैनिकका परिवार, अवकाश पाएका सैनिक तथा तिनका परिवार र वीर गति प्राप्त सहिद परिवारका एकल महिलालाई कृषि, पशुपालन र लघु उद्यमका लागि सहुलियत दरमा ऋण उपलब्ध गराइँदै आइएको छ । जसबाट तमाम सैनिक तथा तिनका परिवारको जीवनस्तरमा सुधार त ल्याएको छ नै, समाजमा थप रोजगारीका अवसरसमेत सिर्जना भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विस्तारित यस लघु वित्त कार्यक्रमको आवश्यकता, प्रभावकारिता र आगामी योजनालगायत विषयमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीसँग प्रशासन डट कमका विशेष प्रतिनिधि एस राज उपाध्यायले गरेको कुराकानी ।

नेपाली सेनाले आफ्ना हिताधिकारीहरुको हित तथा कल्याणका लागि सञ्चालित धेरै कार्यक्रमहरू मध्ये लघुवित्त(माइक्रोफाइनान्स) कार्यक्रम निकै प्रभावकारी देखिएको छ, यहाँले कसरी हेर्नुभएको छ ?
नेपाली सेनाले कल्याणकारी योजनामार्फत उपलब्ध स्रोत साधनको उपयोग गरेर विभिन्न कार्य गर्दै आएको छ । जसमध्ये अहिले हामीले अवकाश प्राप्त सेनाका परिवारको जीवनस्तर उकास्न नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका छौँ ।

यो कार्यक्रममा अवकाशप्राप्त सैनिक तथा तिनका आश्रित परिवार साथै एकल महिलालाई ऋण प्रवाह गरिन्छ । अहिले दायरालाई अझ फराकिलो पार्दै लगेका छौँ । गत वर्षबाट बहालवालाका परिवारलाई पनि यस कार्यक्रममा सहभागी गराएका छौँ । यसबाट उनीहरूले सुलभ ब्याजदरमा कृषि, पशुपालन र लघुउद्यम व्यवसायमा ऋण पाउँछन् । त्यसले उनीहरू प्रत्यक्ष रूपले लाभान्वित भएका छन् । त्यसकारण यो कार्यक्रमलाई अझ सरल तथा सहज पारेर व्यापक रूपले अगाडि बढाउने प्रयास गरेका छौँ ।

सैनिक परिवारमा सकारात्मक परिणामपछि यस कार्यक्रमलाई थप विस्तार र विकास गर्दै लैजानेबारे पनि केही सोच्नु भएको छ कि ?
मैले निर्धारण गरेका १० लक्ष्यमध्ये दसौँमा सबैले लघुवित्त कार्यक्रमको प्रतिफल पाउन् भन्ने उल्लेख छ । मेचीदेखि महाकालीसम्म सबैले यसको प्रतिफलको प्रत्याभूति गर्न पाओस् भन्ने मेरो चाहना छ । अवकाशपछि घर व्यवहार चलाउन सैनिकले बिदेसिनुपर्ने बाध्यता आउन नदिन लघुवित्त(माइक्रोफाइनान्स) कार्यक्रम ल्याएका हौँ । यसमा सहभागी हुन प्रोत्साहन गर्दै आएका छौँ । यसमा सहभागी भई सैनिक अवकाशपछि आर्थिक रूपले सम्पन्न हुन सक्छ । घर व्यवहार चलाउन विदेश भौँतारिनुपर्ने बाध्यता नहोस् भन्ने हाम्रो चाहना हो । त्यही अनुसार हामीले कल्याणकारी योजनाअन्तर्गत यो कार्यक्रम अगाडि बढाएका छौँ ।

सेनाको कल्याणकारी कोषमा भएको रकमलाई आम सैनिकका लागि कसरी प्रयोगमा ल्याइँदै आइएको छ ?
नेपाली सेनाको कल्याणकारी फन्डमा भएको रकम भनेको बहालवाला र अवकाश पाएका सबै सैनिकको पसिनाको फन्ड हो । यस फन्डको सही तरिकाले उपयोग गर्न पाउनुपर्छ । त्यसकारण अहिले क्षेत्रीयस्तरमा अस्पताल निर्माण सुरु गरेका छौँ । ताकि बिरामीलाई सामान्य उपचारका लागि पनि केन्द्र धाउनुपर्ने बाध्यता नहोस् । उसले आफ्नो ठाउँमै त्यो सुविधा पाओस् ।

त्यस्तै कल्याणकारी निवृतिभरणलगायत अन्य केही सुविधामा पनि व्यापक परिमार्जन गरिएको छ भने छात्रवृत्तिलगायत शिक्षातर्फ पनि हामीले विशेष जोड दिएका छौँ । बेसिकल्ली शिक्षा र स्वास्थ्यमा हामीले अलिकति भिजिबल देखिने किसिमका काम गरेका छौँ । जसबाट म सन्तुष्ट छु र हिताधिकारीले केही न केही सहुलियत पाएको महसुस गरेको छु । यही फन्डको ब्याजबाट आएको रकमलाई नै मोभिलाइज्ड गर्ने हो । त्यसबाट सबैले फाइदा लिन सक्छन् । हामीले यसको पहुँच घरदैलोमै पुर्‍याउने गरी काम गरिरहेका छौँ । त्यसबाट हिताधिकारी पनि सन्तुष्ट छन् जस्तो लाग्छ । यसअघिका प्रधानसेनापतिबाट पनि केही न केही काम हुँदै आएका थिए । मेरो कार्यकाल पछि पनि कल्याणकारी योजनाबाट अधिकतम लाभ दिलाउने हिसाबले ठोस काम हुँदै जानेछ भन्ने मैले विश्वास लिएको छु ।

यस लघुवित्त कार्यक्रमसँग जोडिएका तथा अन्य सैनिकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
कल्याणकारी योजनामार्फत धेरै काम भएका छन् त्यसबाट धेरैभन्दा धेरै हिताधिकारीले लाभ लिएका छन् । धेरैजसोलाई यसबारे जानकारी छ, हुन त कल्याणकारी योजना निर्देशनालयले पनि विभिन्न माध्यमबाट यसबारे सबैलाई सुसूचित गराइरहेको छ । तैपनि कतिपय अवस्थामा कतिपय व्यक्तिले कल्याणकारीबाट पाउने सुविधाबारे जानकारी नपाएको देखिन्छ । कल्याणकारी फन्ड भनेको बहालवाला र भूपू सबैको रगत पसिनाबाट आर्जित फन्ड हो । यो फन्डको उचित प्रयोग हुनुपर्छ । यसको लाभ सबैले प्रत्याभूति गर्न पाउनुपर्छ ।

राष्ट्र सेवामा समर्पित सैनिक अधिकारीहरूको अवकाशपछिको जीवनस्तर सुधार(आर्थिक तथा सामाजिक)का लागि राज्यबाट थप के भई दिए हुन्थ्यो जस्तो लाग्छ ?
नेपाली सेना कल्याणकारी कोषमा भएको रकम आर्मी स्वयंले व्यक्ति विशेषबाट उठाइएको फन्ड हो । यसबाट गर्न सकिने जति कार्यहरू त हामीले सञ्चालन गर्दै आएका छौँ नै । सरकारले पनि २४ सै घण्टा खटिने नेपाली सेनाका लागि कल्याणकारीतर्फ ठोस देखिने र अनुभूति हुने गरी केही थप कदम चालिदिएमा अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्‍याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारलाई हौसला

Tags :
प्रतिक्रिया दिनुहोस