के निश्किन्छ मतपेटिकाबाट ? देउता कि दानव ! « प्रशासन

के निश्किन्छ मतपेटिकाबाट ? देउता कि दानव !


प्रकाशित मिति : २२ असार २०७४, बिहीबार ०५:३२

लोकतन्त्रको एक महत्वपूर्ण प्रक्रियाः चुनाव अर्थात निर्वाचन । जसको माध्यमबाट नागरिकहरुले आफ्ना प्रतिनिधिहरुको छनौट गर्दछन् । व्यवस्थापिका मात्रै होइन न्यायपालिका एवं कार्यपालिकाका बिभिन्न पदहरुका लागि समेत चुनाव नै एक सर्वसम्मत विकल्प बन्न थालेपछि यसको प्रयोगमा ब्यापकता आएको छ । नीजि संघसंस्था देखि राष्ट्रिय/अन्तराष्ट्रियस्तरसम्म पनि चुनाव नै छनौटको सर्वसम्मत प्रक्रिया हो ।

नेपालमा पनि चुनावको इतिहास लामै छ । पहिलो पटक २००४ जेठ ३ गते राणा प्रधानमन्त्री पद्मशमशेरको पालामा काठमाडौं म्युनिसिपालिटीको निर्वाचनबाट शुरु भएको निर्वाचन २०७४ सम्म आइपुग्दा अझ यसका दायराहरु फराकिला बन्दै गएको देख्न सकिन्छ । यसका बिधी, प्रक्रिया र व्यापकतामा अझ बिस्तार भएको छ ।

२०१० भदौ १७ गते भएको काठमाडौं नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलालाई मतदान अधिकारप्राप्त देखि २०१४ मा काठमाडौं नगरपालिकाको दोस्रो निर्वाचन हुँदै ०१८ फागुन ७ गते तत्कालिन राजा महेन्द्रले गराएको गाउँ पञ्चायतको निर्वाचनसम्म आइपुग्दाको चुनावी प्रक्रियामा मतदाताले बन्द कोठाभित्र हात उठाएर मतदान गरे । उम्मेदवारको नाम भन्दै हात उठाएर उम्मेदवारको पक्षमा उठेको हातको गणनाका आधारमा विजयी घोषणा गरिन्थ्यो । ०१९ मा नगर र अञ्चल पञ्चायतको निर्वाचन भयो । ०२० मा रङको आधारमा मतदान भयो । जसमा उम्मेदवारलाई बिभिन्न रङ रोजाइयो र मतदाताले आफुले चाहेको उम्मेदवारले रोजेको रङ भएको मतपेटिकामा आफ्नो मत खसालेर उम्मेदवार छाने ।

०३२ मा स्थानीय निर्वाचन भयो । गाउँ, नगर र जिल्ला पञ्चायतको निर्वाचन गरियो । स्थानीय निर्वाचन २०३९, २०४३, २०५९ र २०५४ हुँदै २०६२ मा तत्कालिन राजा ज्ञानेन्द्रले नगरपालिकाको निर्वाचन गराए । स्थानीय निकायको निर्वाचन गर्न नगरपालिकाबाट शुरु गरिएको निर्वाचनमा प्रमुख दलले भाग लिएनन् र राजनीतिक परिवर्तनसंगै २०६२ को निर्वाचनले संवैधानिक मान्यता पाएन ।

यतिबेला हामी स्थानीय निर्वाचन २०७४ मा छौं । प्रत्यक्ष/अप्रत्यक्ष रुपमा हामी सबै यसका हिस्सेदार बनिरहेका छौं । करीव दुइ दशकको प्रतिक्षापछि केही दिन अघि मात्रै स्थानीय तह निर्वाचन २०७४ को दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । मत परिणाम आउने क्रम जारी छ । दलहरुको दलालीले तीन चरणमा हुन पुगेको स्थानीय निर्वाचन २०७४ अन्तर्गत, पहिलो र दोस्रो चरणको निर्वाचन करीब करीव सफल भयो भन्न सकिन्छ यद्यपी विवाद रहित भने हुन सकेन । दलहरुको मनपरितन्त्रबाट राजनीतिप्रति नै बितृष्णा जागेको अवस्थामा प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचनबाट जनताहरु बिमुख हुन सकेनन् यद्यपी निर्वाचनको यस अति सुन्दर पक्ष खुल्ला प्रतिस्पर्धालाई नै कलंकित बनाउने गरी नेपालका प्रमुख भनिएका दलहरुबाट भएका अप्राकृतिक गठबन्धनहरुले स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित निर्वाचनको मान्यतालाई कलंकित दाग लगाएको कुरालाई भने नजरअन्दाज गर्न मिल्दैन । प्रमुख प्रतिस्पर्धिहरुले तालमेल मिलाएपछि त्यसलाई देखावटी निश्पक्षता त भन्न सकिएला र राष्ट्रिय/अन्तराष्ट्रिय स्तरबाट एक प्रकारको बैधानिकता त प्राप्त गर्न सकिएला तर आधुनिक लोकतन्त्रको मर्म अनुशार छ भनेर कदापी भन्न सकिँदैन र इमान्दार नागरिक(मतदाता)को आत्माले यो स्विकार्न पनि सक्दैन । चितवन मतगणना यसको ताजा उदाहरण हो ।


बहादुर प्रहरी हवल्दार दुर्गाबहादुर राना नै काफी छन् मानवरुपी समाजबाट देवता कसरी जन्मिन्छन् त भन्ने कुरा जान्न र बुझ्नका लागि ।


नेपालका दलहरुको चरित्र र नेताहरुको आनि, बानी, व्यवहार र संस्कारले राजनीतिबाट नै पर बसेको अवस्थामा पनि नागरिकहरुको चाहनाबाट भने टाढा हुन सकिएन । यद्यपी नागरिकको संगठनका नाममा केही स्वघोषित सुकिलाहरुको झुण्डबाट भने अझै पनि टाढै बस्न मन छ, बहुमत नागरिक जो नितान्त आफ्नो पेशा व्यवसाय गरेर इमानको कमाइबाट आफु पनि बाँचिरहेका छन् र ति बेइमानहरुलाई समेत दान र छुट दिएर बचाइरहेका छन् । म तिनै महान नागरिकहरुको कुरा गर्दैछु, जो साच्चिकै देवताको रुप हुन् । मैले लुगा लगाएको भएपनि तिनको आत्मामा देवताकै बास छ, फाटेकै चप्पल भएपछि त्यसमा इमान छ, झोपडीमै बास भएपछि तिनको मनमा दया, करुणाको खानी छ । यस्ता वस्तीहरु नेपालमा धेरै छन्, तिनै वस्तीहरुमध्ये एक गाउँ, जहाँका मतदाताले मतपेटिका भित्र देखेको देवत्वले आज मलाई यति लेख्न करै लगायो ।

डोटीको गडसेरास्थित एक मतदान केन्द्रमा बृद्ध मतदाताले मतपेटिका भित्र मतपत्र खसाले पछि मन्दिरमा देवतालाई जसरी ढोगिन्छ दुइ हात जोडेर, त्यसैगरी मतपेटिका ढोगेको देख्दा लाग्यो मतपेटिका मन्दिर हो अनि भक्तहरुले मतपत्रको भेटी चढाइ मनोकामना पुरा होस् भन्ने वर मागिरहेका छन् । त्यो दृश्यले भन्यो साच्चिकै चुनाव त ति बृद्धबृद्धाहरुका लागि पो रहेछ, जसले २० वर्ष पछि भेटाएको मन्दिररुपी मतपेटिकाभित्र भेटीरुपी आदर, सम्मान, समर्थन तथा भावना सहितको मतपत्र खसाल्न पाउँदा दंग छन्, प्रफुल्लित छन् । नहुन् पो कसरी नानाथरी तन्त्रमन्त्रका नाममा सक्ने(सकेर) खानेहरुको रजाइबाट आजित भइसकेका नागरिकहरुले केही बीधि, तौर, तरिका र विकास खोजिरहेका छन् । थाहा छैन यस पटक पनि मतपेटिकाबाट देउता निश्कन्छ कि दानव ! त्यो त समयले नै देखाउने छ ।

तर नागरिकहरुले त देउतै निकाल्न भनेर सकिनसकी चुनावी पर्वमा सहभागी हुँदै आत्माबाट संकल्पेको सम्मानरुपी भेटी(मतपत्र) मतपेटिका भित्र खसालेका छन् । मानो रोपेर मुरी फलाउने याममा पेटै मारेर अर्थात गाँसै काटेर घण्टौं हिँडेर एक असल नागरिकको भूमिका कुशलतापूर्वक निर्वाह गरेका छन् । मतदान गर्न लाइन लागेकै अवस्थामा मृत्युवरण गरेका नागरिकलाई कसरी बुझेका छन् दलहरुले ? उनिहरुले जसरी बुझुन्, जसरी परिभाषित गरुन् या जे भनून्, जति बुद्धि त्यति नै अपेक्षा गर्ने हो तर नागरिकको तर्फबाट एक नागरिक भएर भन्नुपर्दा जसरी तिर्थवर्त गर्न गएको बेलामा प्राण त्याग गर्यो भने स्वर्ग जाने विश्वास गरिन्छ त्यसरी नै नागरिकले लोकतान्त्रिक अभ्यासका लागि मतदान केन्द्रमा मत खसाल्न जाँदा गरेको मृत्युवरणलाई स्वर्गको प्रस्थानका रुपमा बुझ्न सकिन्छ । भलै चुनावी हरिलठ्ठेहरुले एक/दुइथान मतको जोडघटाउका हिसावले हेर्लान् मतदाताको मृत्युवरणलाई मुल्याँकन गर्न अंक गणितीय र चतुर खुराफातिको किरो होइन, नैतिक मूल्य मान्यता र इमान्दारीताकै हिरो चाहिन्छ ।

संघीयताको प्रस्थानबिन्दुका रुपमा पनि लिइएको यस निर्वाचनमा पवित्र भावना बोकेर आएका असल नागरिकमाथि आक्रमण हुँदा त्यहीबाट देवरुपी रक्षकले ज्यानको बाजि लगाउदै नागरिकहरुको सुरक्षा गरेको उदाहरण नै प्रयाप्त छ बुझ्ने र सुध्रिन चाहनेहरुका लागि । अज्ञात समूहले प्रहार गरेको बम हातले टिपेर फाल्ने बहादुर प्रहरी हवल्दार दुर्गाबहादुर राना नै काफी छन् मानवरुपी समाजबाट देवता कसरी जन्मिन्छन् त भन्ने कुरा जान्न र बुझ्नका लागि । आम नागरिकले जनउत्तदरदायी नेता चाहेका छन् । हाम्रा भन्दा पनि राम्रा र हामै्र मध्येका पनि राम्रा छान्ने प्रयास गरेका छन् । जनताले आफ्नो ठाउँबाट गर्न सक्ने जति गरेका छन् ।

अब देखाउने पालो जनप्रतिनिधिहरुको; ब्यक्ति केन्द्रित राजनीतिका कारण नरकतुल्य बनाइएको नेपाली परिवेशलाई देवतुल्य नेता बनेर स्वर्ग जस्तै नेपाल बनाउने ।

[email protected]

एस राज बाट थप,

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

प्रतिक्रिया दिनुहोस