सैनिक परिवारको सहारा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सैनिक परिवारको सहारा


एस राज उपाध्याय

१६ पुस २०७४, आइतबार


काठमाडौँ । नेपाली सेनाबाट अवकाश पाएपछि चितवन, नारायणी नगरपालिका सितलपानिका तिलकबहादुर गोदारलाई परिवारको खर्च कसरी टार्ने भन्ने चिन्ताले सताउन थाल्यो । त्यतिबेला पेन्सन नै उनको घर खर्च धान्ने एउटै स्रोत थियो । २०६२ असारमा अवकाश पाएका तिलकबहादुर त्यतिबेला मासिक ८/१० हजार रुपैयाँ पेन्सन पाउँथे । तर, त्यो रकमले खर्च टार्न धौ धौ थियो । परिवारको खर्च टार्न अर्को आर्थिक स्रोत नजुटाई उनलाई सुखै थिएन । तर के गर्ने ? उनले आम्दानीको अर्को बाटो पहिल्याउनै सकेका थिएनन् । ‘जागिर छँदा त जेनतेन घर खर्च चलेकै थियो,’ उनी सम्झन्छन्, ‘तर, अवकाशपछि पेन्सनबाट घर खर्च चलाउन निकै मुस्किल भयो ।’

सधैजसो चिन्तित देखेपछि तिलकबहादुरलाई आफन्त र छिमेकीले विदेश जान सुझाए । तर, मातृभूमि छाडेर उनी विदेश जान पनि सकेनन् । ‘१८ वर्ष स्वदेशमै सेवा गरेकाले यही केही गर्ने अठोट थियो,’ उनले भने, ‘त्यसैले विदेश जान पनि सकिनँ, थोरै पैसा भए पनि यही सुख–दुःख साटौला भन्ने लाग्यो ।’

त्यति बेला उनलाई व्यवसाय गर्ने चाहना पनि नभएको होइन । तर, उनीसँग पैसा थिएन । साहुसँग चर्को ब्याजदरमा ऋण लिन उनको गक्षले दिएन । आर्थिक स्रोत जुट्ने उपाय नपाएपछि उनको चिन्ता झन् बढ्दै गयो ।

केही समयपछि उनले ‘लघुवित्त कार्यक्रम’बाट सस्तो ब्याजदरमा ऋण पाइन्छ भन्ने जानकारी पाए । नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको साझेदारीमा सञ्चालन भएको यस कार्यक्रमले अवकाश पाएका र बहालवाला सैनिकलाई कृषि, पशुपालन र लघु उद्यम व्यवसायमा ऋण दिने गरेको छ । त्यसपछि त उनलाई ‘के खोज्छस् कानो आँखो झैँ’ भयो ।

उनले बाख्रापालन गर्न लघुवित्त कार्यक्रमबाट चार लाख रुपैयाँ ऋण लिए । ‘सम्भावना देखेरै बाख्रापालन गरेको हुँ,’ उनी भन्छन्, ‘अहिले यसबाट राम्रै मुनाफा भइरहेको छ ।’

अहिले उनले परिवारको खर्च मात्रै टारेका छैनन्, मासिक बचत पनि गर्ने गरेका छन् । लघु वित्त कार्यक्रमले परिवारको जीवनस्तर उकासेको उनी बताउँछन् । ‘लघुवित्त कार्यक्रम मेरा लागि वरदान साबित भएको छ,’ उनी भन्छन्, ‘अहिले मलाई न घर खर्चको चिन्ता छ न त छोराछोरीको पालनपोषणको नै ।’

सुर्खेत, वीरेन्द्रनगरका जनक ढकालले पनि अवकाशपछि कृषि व्यवसायमा लागौला भन्ने सोचेकै थिएनन् । पेन्सनले मात्र घरखर्च धान्न नसक्ने अवस्था आएपछि उनी पनि आम्दानीको स्रोत पहिल्याउन थाले । बुझ्दै जाँदा उनले लघुवित्त कार्यक्रमबारे जानकारी पाए । पशुपंक्षी तथा कृषि फर्मका लागि ऋण लिए ।

‘थोरै लगानीमा राम्रो आम्दानी हुने जानकारी पाएपछि कृषि र कुखुरा पालन सञ्चालन गरेको हुँ,’ उनी भन्छन्, ‘अहिले यसबाट राम्रै आम्दानी भइरहेको छ ।’

उनले पाँच कट्टा जमिनमा पशुपक्षी तथा कृषि फर्म खोलेका छन् । ‘व्यवसायको आम्दानीले छोराछोरीलाई उनीहरूले चाहेको विषय पढाउन सक्ने भएको छु,’ उनी गर्व गर्छन्, ‘व्यवसायले आर्थिक तथा सामाजिक जीवनस्तर बढाएको छ । यसैमा मलाई गौरव छ ।’

तिलकबहादुर र जनक त प्रतिनिधि पात्र मात्र हुन्, लघुवित्त कार्यक्रमबाट ऋण लिएका थुप्रै अवकाश पाएका सैनिकले समाजमा भिन्नै परिचय स्थापित गरेका छन् । उनीहरूले अवकाशपछिको समय उपयोग मात्र गरेका छैनन्, व्यवसायबाट राम्रो मुनाफा आर्जन गरी आर्थिक–सामाजिक स्तरसमेत उकासेका छन् ।

‘मेहनत गर्नेलाई लघुवित्त सहारा बनेको छ,’ तिलकबहादुर भन्छन् । सेवा, सुविधा बढाउन सके कार्यक्रम अझै प्रभावकारी हुने उनको बुझाइ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकका सहायक प्रबन्धक अमन श्रेष्ठ लघुवित्त कार्यक्रमबाट ऋण लिने थुप्रैले सफलता पाएको बताउँछन् । ‘व्यवसाय गर्नेलाई व्यवसाय र पुँजी परिचालन गर्नेबारे ज्ञान तथा सीप हुनु आवश्यक छ,’ उनले सफलताको कारण खुलाए । लघुवित्त कार्यक्रमको सफलतासँगै लोकप्रियता पनि बढेको छ ।

लघुवित्त कार्यक्रमले अवकाश पाएका र बहालवाला सैनिक परिवारलाई प्रत्यक्ष रूपमा सहयोग गरिरहेको लघुवित्त कार्यक्रमका प्रमुख समन्वयकर्ता तथा पूर्वमानार्थ उपरथी धनिदाश कार्की बताउँछन् ।

देशमा बढ्दो बेरोजगारको समस्या एकातिर छ भने अर्कोतर्फ स्थानीय माग अनुसार उत्पादन हुन नसकिरहेको बताउँदै उपरथी कार्कीले भने– ‘सेवामूलक भावनाले सञ्चालित कार्यक्रमहरूले अन्ततोगत्वा परिवार, समाज र राष्ट्रको लागि नै भरपर्दो टेवा पुग्न गएको छ ।’

एस राज उपाध्यायबाट थप,

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारलाई हौसला

Tags :
प्रतिक्रिया दिनुहोस