लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्‍याएको छ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्‍याएको छ


७ माघ २०७४, आइतबार


नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा लघुवित्त कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमअन्तर्गत बहालवाला सैनिकका परिवार तथा अवकाश प्राप्त सैनिक, तिनका परिवार र एकल महिलालाई कृषि, पशुपालन र लघु उद्यममा कर्जा प्रवाह गरिँदै आएको छ । कार्यक्रमको उद्देश्य, यसले पारेको प्रभावलगायत विषयमा लघुवित्त कार्यक्रमका प्रमुख समन्वयकर्ता अवकाशप्राप्त मानार्थ उपरथी धनीदास कार्कीसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

नेपाली सेना कल्याणकारी बोर्ड तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रम देशैभरी सञ्चालनमा आएको छ, यस कार्यक्रमका बारेमा प्रकाश पारिदिनुहोस् न ?
देशमा बेरोजगारको समस्या बढ्दो छ । बजार नहुँदा उत्पादित बस्तुको खपत हुन सकेको छैन । दैनिक हजारौँ युवा विदेश पलायन भएका छन् । अवकाशपछि थुप्रै सैनिक पनि कामका लागि विदेश गएको हामीले देखेका छौँ । यो अवस्थामा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा लघुवित्त कार्यक्रम सञ्चालनमा आएको छ । यो कार्यक्रम ज्यादै लाभदायक सिद्ध भएको छ । विशेष गरी सेवामूलक भावनाले सञ्चालन भएको यो कार्यक्रमबाट बहालवाला तथा भूपू सैनिक तथा तिनका परिवार र एकल महिला प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

लघुवित्त कार्यक्रम अन्तर्गत कुन कुन क्षेत्रमा कर्जा उपलब्ध गराइँदै आएको छ ? के यस कार्यक्रमले लक्षित वर्गको जीवनस्तर उकास्न साँच्चिकै मद्दत पुर्‍याएको छ ?
लघुवित्त कार्यक्रमअन्तर्गत कृषि, पशुजन्य र लघुउद्यम क्षेत्रमा लगानी गरिन्छ । स्थलगत अध्ययन तथा भ्रमणका क्रममा यो कार्यक्रमले लक्षित परिवारको जीवनस्तरमा लाभ पुर्‍याएको महसुस गरेका छौँ ।

कस्तो परिवार या समुदायले यस कार्यक्रमबाट बढी लाभ लिएको देखिन्छ ?
निम्न तथा मध्यम स्तरको परिवारले यसबाट सहयोग पाएका छन् । जसलाई भविष्य परिवारको खर्च कसरी चलाउने, जागिर कहाँ गर्ने चिन्ता छ, ती परिवारलाई लघुवित्त कार्यक्रमले धेरै राहत पुर्‍याएको महसुस गरेको छु ।

बेला बेलामा हुने अनुगमन तथा भ्रमणका सिलसिलामा स्थलगतरुपमा के देखिन्छ ?
लघुवित्त कार्यक्रमबाट ऋण लिएर व्यवसाय गर्नेमध्ये जसले आफ्नै परिवारको सहयोग पाएका तिनले निकै लाभ लिएका छन् । तिनको आर्थिक स्तर पनि धेरै राम्रो भएको छ । ऋण लिएर पनि व्यवसाय सञ्चालन नगरेकाहरू सफल भएको पाइएको छैन ।

अनुगमनका क्रममा यहाँ त पूर्व मेची देखि पश्चिम महाकालीसम्म पुग्नुभएको छ । मन छुने खालका केही काम भएका छन् ?
धेरै छन् । रातदिन ड्युटीमा खटेर देशको सेवा गर्ने मान्छे फरक पृष्ठभूमिमा कृषिलगायत अन्य पेशा एवम् व्यवसायमा एडजस्ट भएको कुराले मन छोएको छ । यस्ता धेरै पात्रहरू भेटाउन सकिन्छ जो समाजमै उदाहरणीय बनेर बसेका पनि छन् ।

आर्थिक सम्बृद्धि तथा स्वरोजगारमा यस कार्यक्रमले कतिको सहयोग पुर्‍याएको देख्नुहुन्छ ?
महिनामा ३०-४० हजार कमाउन कयौँ युवा विदेश गएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत ऋण लिएर व्यवसाय गर्नेले महिनामा एक-दुई लाख कमाएका छन् । यो कुरा उनीहरूले एक–दुई वर्षपछि आफै खोलेका छन् । विदेशको कमाइ भन्दा त यो एकदमै राम्रो र आकर्षण हो नि । मैले अघि पनि भने, एक्लै काम गर्ने मान्छे या पैसा तिरेर काममा लगाउने भन्दा पनि आफ्नो परिवारको सहयोग पाएका व्यक्तिले प्रतिमहिना ५०–६० हजार भन्दा बढी कमाउने मान्छे हामीले भेटेका छौँ ।

बन्दुक बोक्ने हातले के अरुकाम गरिखान सक्छ र भन्ने मानसिकता अझै पनि समाजमा सुनिन्छ, स्थलगतरुपमा यहाँले के देख्नुभयो ?
सेवामा रहँदा कसरी राष्ट्रको सुरक्षा गर्ने या ड्युटी पूरा गर्नेतर्फ सैनिकको ध्यान केन्द्रित हुन्छ । काम गरेर अरूसँग हिँड्दा हीनताबोध हुन्छ की भन्ने लागेको थियो औसत सबैले स्वइच्छाले विभिन्न पेशा अपनाएको पाइयो । होटेल व्यवसाय, रेस्टुरेन्ट, खुद्रा पसल, हार्डवेयर, ब्युटी पार्लर, सिलाइ बुनाइ जस्ता व्यवसाय, कृषि तथा पशुपालन गरेर राम्रो आयआर्जन गरेको पाइयो । त्यसले गर्दा जुनसुकै पेशाका मानिसहरुपनि दृढ संकल्पसहित अगाडी बढेमा जहाँ पनि काम गर्न सक्छ भन्ने पुष्टि भएको छ ।

भनेपछि आर्थिक अवस्था सुधार सँगसँगै सामाजिक रूपमा पनि सकारात्मक प्रभाव पारेको छ भन्न खोज्नुभएको हो ?
हो । आफ्नो घर खर्च धानेर बचेको केही पैशाले समाजसेवाका काम गरेका उदाहरण पनि प्रशस्तै देखियो । छरछिमेक, नातागोता, आफन्त लगायत गाउँ, ठाउँका समस्याहरूको समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्दै स साना विकास निर्माणका कार्यमा समेत अग्रसरता लिएको देख्दा र उनीहरूप्रति समाजले गरेको भरोसालाई हेर्ने हो भने समाजमा राम्रै छवि बनाएर बसेका छन् भन्न सकिन्छ ।

नेपाली सेनाले यो कार्यक्रम मार्फत भू.पू. सैनिक र सेनासँगको एट्याजमेन्ट राखिराख्नका लागि पनि सञ्चालनमा ल्याएको देखिन्छ, के लाग्छ यहाँलाई ?
वास्तवमा भन्ने हो भने लामो समय देश र जनताको लागि एउटा सैनिक समर्पित रहेको हुन्छ उसले अन्य आय आर्जनमा अँगाल्न पाएको हुँदैन तसर्थ अवकाश प्राप्त भएर उही गाउँघर र सहायता कर्मपछि आर्थिक तथा सामाजिक जीवनस्तर अभिवृद्धि होस् भन्ने हेतुले नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा यो कार्यक्रम ल्याइएको हो । यसले भूप सैनिक तथा नेपाली सेनाले हाम्रो लागि पनि केही गर्दो रहेछ भन्ने सन्देश दिएको छ । यस्ता सेवामूलक कार्यबाट नेपाली सेना र भू.पू. सैनिक बिचको अपनत्वको भावना त अवश्य सुदृढ हुन्छ नै ।

स्थलगत भ्रमणका क्रममा अवकाश हुनु अगावै विभिन्न किसिमका तालिमहरू दिनुपर्ने हामीसँग कुराकानीका क्रममा भूपु सैनिकले बताएका छन्, यहाँलाई के लाग्छ ?
यहाँले एकदम राम्रो प्रश्न गर्नुभयो । नेपाली सेनाले अवकाश हुन लागेको अवस्थामा पुगेको सकल दर्जालाई विभिन्न तथा व्यवसायीक तालिम प्रदान गर्न भोकेसनल ट्रेनिङ इन्स्टिच्युट (भिटीसी) खुलाएको छ । त्यस्तै सैनिक श्रीमती संघले पनि छाउनीमा भोकेसनल ट्रेनिङ सेन्टर खुलाएको छ । यहाँ विभिन्न सिपमूलक व्यवसायीक तालिमहरू महिलाहरूलाई दिइन्छ । सिटिइभिटिइबाट मान्यताप्राप्त यस्ता सिपमूलक व्यावसायिक तालिम लिई सकेपछि उनीहरूले लघुवित्त कार्यक्रममा आबद्ध भएर व्यवसाय सञ्चालन गर्न यसले धेरै राम्रो मद्दत गरेको छ । अर्कोतर्फ नेपाली सेना कल्याणकारी बोर्डले स्थान विशेषमा रहेका भू.पू. सैनिकहरूका लागि आवश्यकता अनुसार विभिन्न तालिमहरू प्रदान गरेको छ । आर्थिक सहयोग गरेको छ ।

रिण लिएकाहरू सबै सफल हुन्छन् भन्ने छैन, खास गरी कस्ता व्यक्तिहरू सफल हुन्छन् ? अर्थात् सफलताका सूत्रहरू बताइदिनुहोस् न ?
पहिलो सबैभन्दा महत्त्वपूर्ण कुरा आफूमा काम गर्नमा हीनताबोध हुनुभएन । दोस्रो आफू ले सञ्चालन गर्ने व्यवसायको पूर्ण ज्ञान हुनुपर्‍यो । तेस्रो म जुनसुकै काम गर्न पनि सक्छु काम गर्न लाज हुँदैन भन्ने कुरा दिमागमा राख्नुपर्‍यो । यो व्यवसाय सञ्चालन गरेपछि म यसलाई सफल बनाएरै छोड्छु भनेर दृढ अठोट लिनुपर्‍यो । मेहनत नगरी त कुनै पनि काम सफल हुँदैन । यी तिन कुरालाई मध्यनजर राखी अगाडी बढ्यो भने अवश्य सफल भइन्छ ।

यस कार्यक्रमको सफलतासँगै केही चुनौती पनि त पक्कै होलान् नि ?
यसका सबल पक्षसँगै चुनौती पनि छन् । वास्तवमा भन्ने हो भने तालिम, अनुगमन र खराब कर्जा असुलीको पाटो ज्यादै महत्त्वपूर्ण छ । कार्यक्रमको सफलता पनि यसमै निर्भर गर्छ । हामीले यसलाई निराकरण गर्न आपसी भेटघाट तथा अन्तरक्रिया, स्थलगत भ्रमण उच्चस्तरीय छलफल, जङ्गी अड्डा, कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख पदाधिकारीबाट प्राप्त निर्देशन अनुसार नीति बनाएर कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस्ता गतिविधिहरूले लघुवित्त कार्यक्रमलाई आगामी दिनमा विस्तार गर्न अझ सहयोग पुर्‍याएको छ ।

अन्त्यमा हिताधिकारीहरुलाई केही भन्न चाहनुहुन्छ ?
नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाली सेना कल्याणकारी बोर्डबिच भएको समझदारी तथा सहकार्यमा सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको आर्थिक उत्थानको लागि लघुवित्त कार्यक्रम सञ्चालनमा आएको छ । यो बिलकुल सेवामूलक भावनाले सञ्चालनमा आएको हो । बहालवाला सैनिकका परिवार तथा अवकाश प्राप्त सैनिक, तिनका परिवार र एकल महिलाको कल्याणका लागि यो कार्यक्रम ल्याइएको हो ।

यो कार्यक्रममा बढी भन्दा बढी सहभागी भएर आफ्नो रोजाइका व्यवसाय सञ्चालन गर्ने र ऋणीले समयमै कर्जा तिरेको खण्डमा यो कार्यक्रम अनन्तकालसम्म निरन्तर चली रहन्छ । यसको लागि नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले पनि प्रतिबद्धता जनाउनु भएको छ । वास्तवमा भन्ने हो भने खराब कर्जा यसको चुनौतीका रूपमा खडा भएको छ । त्यसैले अनुशासितरुपमा समयमै कर्जा तिर्ने बानी बसाल्यौँ भने अन्य साथीहरूले पनि कर्जा उपयोग गर्ने मौका मिल्छ साथै यसले इन्भेष्टमेन्ट बैंकले पनि लगानी गर्न अगाडी बढी नै रहने छ भन्ने मलाई लाग्छ । पनि अगाडि बढ्छ भन्ने कुरा राख्न चाहन्छु ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारलाई हौसला

Tags :
प्रतिक्रिया दिनुहोस