काठमाडौँ । निजी क्षेत्रका प्रमुख छाता संगठनहरूले उद्योगी तथा व्यवसायीमाथि भइरहेको पक्राउ, धरपकड र थुनछेकको प्रवृत्तिले लगानी वातावरण कमजोर बनाएको तथा उद्यमशील मनोबल घटाएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै हालै एक उद्योगीलाई प्रहरीले नियन्त्रणमा लिएपछि समग्र निजी क्षेत्रले गम्भीर चासो व्यक्त गरेको जनाएका हुन्।
विज्ञप्तिमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वसँगै लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमीमाथि हुने यस्ता कारबाहीले व्यावसायिक समुदायमा निराशा बढाएको उल्लेख छ।
ती संगठनहरूले अर्थतन्त्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको स्मरण गराउँदै यस्तो वातावरणले उत्पादन, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार विकासमा प्रतिकूल असर पार्न सक्ने चेतावनी दिएका छन्।
आर्थिक प्रकृतिका मुद्दामा अनुसन्धानका लागि बोलाइएका व्यक्तिहरू उपस्थित हुन तयार हुँदाहुँदै पक्राउ गर्ने अभ्यासले थप चिन्ता बढाएको उनीहरूको भनाइ छ। आर्थिक कसुरसम्बन्धी विषयमा पहिले सुनुवाइ, अनुसन्धान र प्रमाण संकलन गरी कसुर पुष्टि भएपछि मात्र कानुनी प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिएको छ।
उद्योगी व्यवसायीमाथिको कारबाहीले व्यक्ति मात्र प्रभावित नहुने, यसले लाखौँ रोजगारी, आपूर्ति शृङ्खला, बैंकिङ प्रणाली र समग्र आर्थिक गतिविधिमै असर पार्न सक्ने तर्फ पनि ध्यानाकर्षण गराइएको छ।
सरकारले पछिल्लो समय नीति तथा कानुन निर्माण प्रक्रियामा निजी क्षेत्रलाई सहभागी गराउने प्रयास थालेको तथा निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धनसम्बन्धी रणनीति स्वीकृत गरेको विषयलाई सकारात्मक रूपमा लिइएको छ। तर त्यही समयमा भइरहेका धरपकडका घटनाले व्यावसायिक समुदायमा थप अन्योल सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ।
संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म दोषी नठहरिने सिद्धान्तको पालना हुनुपर्नेमा जोड दिँदै संगठनहरूले दोष प्रमाणित भए कानुनअनुसार कारबाही गर्न आफूहरू असहमत नरहेको स्पष्ट पारेका छन्।
विगत केही वर्षदेखि सुस्ताएको अर्थतन्त्रलाई गतिशील बनाउन स्थिर सरकार, स्पष्ट नीति र व्यवसायमैत्री व्यवहार आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रले लगानीकर्ताले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
संयुक्त विज्ञप्तिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको हस्ताक्षर रहेको छ।







