काठमाडौँ। नेपाली काँग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।
गत भदौ २३ र २४ को जेन जेड आन्दोलन पश्चात् मुलुक थुप्रै अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्यौलताको बिचबाट गुज्रीरहेको उल्लेख गर्दै उनले संविधानलाई लिकमा ल्याउन आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु पर्ने बताएका छन् ।
तर, आफू भने उम्मेदवार नहुने उनको घोषणा छ । चुनाव नलड्ने घोषणामा भने उनले स्वास्थ्यको कारण भनेका छन् । ‘मेरो प्रतिकुल स्वास्थ्य अवस्थाको कारण यही माघ ६ गते रहेको मनोनयन दर्तामा उपस्थित र तत्पश्चात् सक्रिय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु’ उनले सूचना नै निकालेर भनेका छन् ।
उनको नाम सुर्खेत क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि काँग्रेसको तर्फबाट उम्मेदवार सिफारिस भएको छ ।
तर, आफू करिब २ महिनादेखि खुट्टामा देखिएको नसा सम्बन्धी समस्याले गर्दा सहजपुरमा हिडडुल गर्न समेत नसकिरहेको उल्लेख गर्दै उनले डाक्टरको सल्लाह बमोजिम हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचार गरिरहेको बताएका छन् ।








