कार्यालय खुल्नु अगाडि नै विनोद चौधरीको बयान, राजनीतिकरण गर्न खोजिएको टिप्पणी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यालय खुल्नु अगाडि नै विनोद चौधरीको बयान, राजनीतिकरण गर्न खोजिएको टिप्पणी


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा बयान दिएका छन् ।

प्रहरीको रोहबरमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बिहीबार उनले बयान दिएका हुन् । चौधरीसँग कार्यालय समय सुरु हुनु अगावै बयान लिइएको हो ।

पत्रकारहरूसँग कुरा गर्दै विनोद चौधरीले लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्न खोजिएको टिप्पणी गरेका छन् । बाँसबारीको जग्गा नितान्त आर्थिक विषय रहेको दाबी गर्दै उनले त्यो राजनीतिक विषय बन्नु दुःखद रहेको बताए । अनुसन्धानमा सघाउन बोलाइएपछि आफू आएको उनको भनाइ छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार चौधरी परिवारले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा विसं २०५२ साल साउन १२ गते ३६ लाख रुपैयाँ सरकारलाई दिएर आफ्नो नाममा बनाएको थियो । सीआइबीले अहिले अनुसन्धान गरिरहेको छ । सीआइबीले चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी दिँदै बुधवार एउटा पत्र संसद् सचिवालयमा पठाएको थियो ।

बाँसबारी जग्गा प्रकरणमा यसअघि चौधरीका दुई भाइ अरुण चौधरी र वसन्त चौधरीले बयान दिइसकेका छन् । प्रहरीले अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धानका लागि केही दिन आफ्नो हिरासतमा पनि राखेको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारीको १० रोपनी जग्गा सरकारको मातहत ल्याउने प्रक्रिया तत्काल थाल्न प्रहरीलाई निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस