स्वास्थ्यकर्मीको समायोजनमा पैशाको चलखेल ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यकर्मीको समायोजनमा पैशाको चलखेल !


१० कार्तिक २०७६, आइतबार


काठमाडौँ । स्वास्थ्यकर्मीहरुको समायोजनमा पैशाको लेनदेन भइरहेको खुलासा भएको छ ।

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन बिग्रनुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मात्र दोष नभई स्वास्थ्य मन्त्रालयको पनि उत्तिकै दोष रहेको बताउँदै ‘गुनासो व्यवस्थापन’का नाममा लाखौँ रुपैयाँको खेल भइरहेको मन्त्रीको सचिवालय स्रोतबाट खुलासा भएको हो ।

‘करोडौँ रुपैयाँको चलखेल भएको छ’ सचिवालय स्रोतले भन्यो, ‘जसले पैशा दिएको छ, उसको काम गरिदिएको छ, जसले दिएको छैन उसको काम भएको छैन ।’

जति अहिले लिष्ट निस्केको छ त्यसमा ९० प्रतिशत बढी पेडवाला भएको उनले ठोकुवा गरे ।

पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समायोजन भएको पत्र बुझ्न र गुनासो सम्बोधनको सूची हेर्नका लागि मात्रै सयौँ कर्मचारीको भीड लाग्ने गरेको छ । यही मौकाको फाइदा उठाउँदै पत्रको फोटोकपी गर्नेदेखि पत्र बुझ्न र सच्याउन पैशा उठाउने गरेको बुझिएको छ ।

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयमा कर्मचारीको ‘बिस्कुन’ ! (फोटोफिचर)

‘जो मन्त्रालयको प्राङ्गणमा देखिन्छन् नि ती सबै सोझा साझा जसको पहुँच छैन, पैशा छैन ती मान्छेहरू हुन्’ स्रोत भन्छ ‘बाँकी जसले त्यहाँसम्म जाने च्यानल भेटायो, जो त्यहाँसम्म पुग्यो भटाभट काम तमाम पारेर गई सकेका छन् ।’
बाहिरबाट हेर्दा गुनासो व्यवस्थापन टिमले काम गरिरहेको देखिए पनि उनीहरूले सेटिङवालाको मात्रै काम गरिरहेको उनको भनाई छ ।

‘गुनासो व्यवस्थापन टिमले काम गरिरहेको बाहिरैबाट देखिन्छ, एकदमै व्यस्त छन् । छान्छन्, टिप्छन्, राख्छन् तर यिनीहरूले त्यही त्यहीको मात्रै गर्दै छन् ज–जसको गर भनेर निर्देशन आएको छ ।’ उनले भने ‘यो कुरा मन्त्रीज्यूसम्म पनि पुगिसकेको छ ।’

केही व्यक्तिहरूले आफैसँग गुनासो गरेको सुनाउँदै स्रोत भन्छ ‘चिठी बुझ्न मात्रै दुई जना सँगै काठमाडौँ आएका छन्, त्यसमध्ये एक जनाले १०-२० हजार रुपैयाँ खल्तीमा हालिदियो चिठी बनाएर गयो तर सँगै आएको मेरो किन भएन ? भनेर भन्न यति धेरै आउँछन् कि त्यसको हिसाबै छैन’

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयको रवैया : १ बजे खाजा खान हिँडेका कर्मचारी ३ बजेसम्म पनि फर्केनन्

सँगै आएको र एक दिन सँगै होटेलमा बसेको साथीले दोस्रो दिन चिठी बुझेर गयो, तर मेरो न सूचीमा नाम देखियो न पत्र नै पाउने छाँट काँट देखियो भन्ने स्वास्थ्य कर्मीको सङ्ख्या ठुलै रहेको छ । मन्त्रालयले किस्ताबन्दीरुपमा प्रकाशित गर्दै आएको सूचीमा देखिएको क्रमसंख्याले पनि दर्ताअनुसार क्रमिकरुपमा नभई रहेको पुष्टि हुन्छ ।

दिनरात लगाएर काम गर्दा पनि सात आठ हजार निवेदनमध्ये मुस्किलले हजार जनाको पनि सूची सार्वजनिक भईरको बाटै भित्रभित्रै चिठि पठाई रहेको र त्यसको कुनै रेकर्डसमेत नभएको उनले बताए । मन्त्रालयले गुनासो सम्बोधनको भएको सुची टाँस गरेको सङ्ख्याको आधारमा पनि यो कुरा पुष्टि हुने उनको भनाई छ ।

‘दिनरात लगाएर काम गरिरहेका छन् तर सात आठ हजार निवेदनमध्ये मुस्किलले हजार जनाको मात्रै भएको छ’, ती अधिकारीले भने, बाहिर टाँस्ने र वेबसाइटमा हाल्ने एउटा चिज हो यिनीहरूले भित्रभित्रै चिठी कति ठाउँमा पठाई सकेका छन् त्यसको कुनै रेकर्ड छैन’

के यो सबै कुरा मन्त्रीलाई थाहा छैन त ? भन्ने प्रश्नमा उनले भने -‘मन्त्रीज्यूसम्म आई पुग्दैन, समायोजनका कतिपय कुराहरू कर्मचारीले जे ब्रिफ गर्‍यो त्यही हुन्छ ।’

बाहिरको भीड देखेर पनि के भएको भनेर बुझ्न सक्दैनन् र मन्त्रीले ? भन्ने अर्को प्रश्नमा उनले भने, -‘मन्त्रीज्यूले काम छिटो गर्नुस् त भनिराख्नु भएको छ, जहाँसम्म पैशामा काम हुने गरेको कुरा छ, त्यसमा दिनेले काम बनाएर गइहाल्छ, मैले दिए भन्न आउने कुरै भएन, काम नहुने सबै मन्त्रीसम्म पुगेर भन्न सक्ने पनि कुरा भएन ।’

सम्बन्धित समाचार : मागेको ठाउँमा समायोजन गर्नु नै अबको समाधान हो -स्वास्थ्यमन्त्री यादव

त्यसो त समायोजन नमिलेका कर्मचारीको गुनासो सम्बोधन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिएको अधिकारको सदुपयोग हुन नसकेको स्वास्थ्यकर्मीहरुको गुनासो रहँदै आएको छ । दोहोरो सहमति लिएर आएका कर्मचारीहरूलाई समेत खाली छैन भन्दै सो ठाउँमा अर्कै मान्छेलाई पठाई सक्ने गरेको उनीहरूको भनाई छ ।

सम्बन्धित समाचार : अधिकार बाहिरको निर्णय गरेको भेटिए समायोजन नै बदर !

अहिले काठमाडौँ र छेउछाउका ठाउँहरूमा आ-आफ्ना मान्छेहरू सेट गर्ने काम भइरहेको सचिवालयकै अधिकारीको भनाई छ । ‘मान्छे पठाएपछि त प्याक भयो नि’ ती अधिकारीले भने, ‘काठमाडौँमै समायोजन भएको कर्मचारीको उसलाई थाहा नै नभई अन्तै सरुवा भएको छ । आफ्ना लागि ठाउँ खाली गर्न त्यसरी खालि गरिएको छ ।’

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयका कारण सरकार बदनाम !

बाँके, कपिलवस्तु र कैलालीबाट आएका केश सार्वजनिक नै भइसकेको बताउँदै उनले हरेक जिल्लामा यस्ता समस्या देखिएको बताए । ‘बाँकेका एक स्वास्थ्यकर्मीको घर नजिकै स्वास्थ्यचौकीमा खाली छ तर उनलाई कपिलवस्तु पठाएको छ, त्यो ठाउँमा आफ्ना मान्छेलाई पठाएका छन् । तर पत्र कहाँबाट भइरहेको छ भन्ने थाहा छैन ।’ उनले भने ।

खाली पनि रहेको र सम्बन्धित ठाउँबाट सहमति लिएर आए पनि पहिले नै अरूलाई पठाएर मिल्दैन भन्दै पठाउने गरेको अधिकांश स्वास्थ्यकर्मीको गुनासो छ ।

सम्बन्धित समाचार : कसले बुझ्ने स्वास्थ्यकर्मीका पीडा ? सेवा गर्नुपर्ने हात मन्त्रालयमा सुर्ती मोल्दै ! (फोटो फिचर)

निवेदनको आधारमा सामान्य प्रशासन मन्त्रालयले जे जस्तो गरे पनि त्यसपछि स्वास्थ्य मन्त्रालयले धेरै गृहकार्य गरेको तर त्यसको नतिजा बाहिर नदेखिनुमा भित्रभित्रै गुपचुपरुपमा पत्रहरू बाँड्ने काम भइरहेको ती अधिकारीको भनाई छ ।
‘स्वास्थ्य मन्त्रालयले बिगारेको छ भनेर कसले भन्छ ?’ उनले भने ।

सम्बन्धित समाचार : स्वास्थ्यकर्मी समायोजन सकस : दोष कसको ?

समायोजनका हरेक प्रक्रियामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहित स्वास्थ्य सेवाका कर्मचारीको समायोजन अघि बढाइए पनि समायोजन अघि, समायोजन चलिरहँदा र त्यसपछि पनि निरन्तर थपघट गर्दै गएका कारण थप जटिल बनेको भन्दै आफै समस्या सुल्झाउन सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेन्द्र श्रेष्ठको संयोजकत्वमा गुनासो व्यवस्था एवं सहजीकरण समिति बनाएको छ ।

सम्बन्धित समाचार : समायोजन लत्याउँदै अमेरिकातिर

उनै श्रेष्ठको नेतृत्वमा अहिले स्वास्थ्यकर्मीहरुको गुनासो सच्याउने तथा पत्र वितरण गर्ने लगायतका कामहरु भईरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस