मागेको ठाउँमा समायोजन गर्नु नै अबको समाधान हो -स्वास्थ्यमन्त्री यादव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मागेको ठाउँमा समायोजन गर्नु नै अबको समाधान हो -स्वास्थ्यमन्त्री यादव


७ कार्तिक २०७६, बिहिबार


सङ्घीय राजधानी काठमाडौँ स्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दिनहुँ हजारौँ स्वास्थ्यकर्मीहरुको ‘बिस्कुन’ लाग्ने गरेको लामै समय भइसकेको छ । बिरामीको उपचारमा तल्लीन हुनुपर्ने अति महत्त्वपूर्ण जनशक्ति हप्तौँ/महिनौँदेखि यसरी घाम ताप्दै दिन काटिरहनु, यो भन्दा विडम्बना सायदै भेटिएला । स्वास्थ्य मन्त्रालय प्राङ्गणमा निराश र हताश मुद्रामा देखिएका कर्मचारीको लाइन छिचोल्दै प्रशासन विशेष ब्युरो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवसम्म पुगेर केही प्रश्नहरू सोधेको थियो, जसमा पहिलो प्रश्न थियो- आफ्नै प्राङ्गणमा यो अवस्थामा बसिरहेका स्वास्थ्यकर्मीहरुसम्म यहाँको नजर नपुगेको हो ? मन्त्री यादवले सामान्य प्रशासन मन्त्रालयको दोष देखाउँदै काम हुँदैछ भन्ने जवाफ दिए । तर कहिलेसम्म हुन्छ त्यो भन्न सकेनन् । प्रशासन टिमले मन्त्री यादवसँग गरेको थप कुराकानी ।

मन्त्रीज्यू स्वास्थ्यकर्मीहरुको समायोजन यति सकसपूर्ण हुनुको कारण के हो ?
समायोजन ऐन अनुसार कर्मचारी समायोजन सामान्य प्रशासन मन्त्रालयले गरेको हो । उसैले गर्दा बिग्रेका, भत्केका बाँकी अफ्ठेरो परेका गुनासोहरूको काम स्वास्थ्य मन्त्रालयलाई दिएको हो त्यो हामीले हेर्दै छौँ ।

त्यो त ठिकै हो तर महिनौँदेखि बिस्कुन जसरी आँगनमा सुताई राख्नु त राम्रो भएन नि, यो मितिसम्म हुन्छ मात्रै भनेको भए पनि त यो अवस्था आउँदैनथ्यो ? दुःख पायौँ भन्ने गुनासो तपाइसम्म पुगेको छैन ?
त्यही गुनासो त हामीले हेरिरहेका छौँ । हजारौँ निवेदन आएका छन् । त्यही हेरिरहेका छौँ । यो काम सामान्य प्रशासनको हो तर हामीले हेर्नु परेको छ । कसको मार परेको छ, त्यसलाई हेर्नु भनेर काम भइरहेको छ ।

अव यो कहिलेसम्म टुङ्गोमा लाग्ला त मन्त्री ज्यू ?
छ सात हजारको छानबिन गरेर टुङ्गो लगाउने भनेको गारो कुरा हो । एक दिनमा कति गर्न सकिन्छ र ? एउटा टिम लागेको छ । दिनमा बढीमा चार पाँच सय, हजार जनासम्म सक्छ । आठ दश जना लागेका छन् । फेरी सबैले काठमाडौँमा नै माग्ने तर दुर्गममा कोही जान नचाहने समस्याले पनि समस्या सिर्जना गरेको छ ।

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयको रवैया : १ बजे खाजा खान हिँडेका कर्मचारी ३ बजेसम्म पनि फर्केनन्

सम्बन्धित समाचार : कसले बुझ्ने स्वास्थ्यकर्मीका पीडा ? सेवा गर्नुपर्ने हात मन्त्रालयमा सुर्ती मोल्दै ! (फोटो फिचर)

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयमा कर्मचारीको ‘बिस्कुन’ ! (फोटोफिचर)

सम्बन्धित समाचार : स्वास्थ्य मन्त्रालयका कारण सरकार बदनाम !

मन्त्रालयमा न कर्मचारी भेटिन्छन्, मुस्किलले भेटिएका कर्मचारीले पनि सेवाग्राहीप्रति जुन व्यवहार गर्नुपर्ने हो त्यो त परै जाओस् आफ्नै कर्मचारीप्रति किन यस्तो व्यवहार ?
बिसौँ वर्षसम्म तल जन निर्वाचित प्रतिनिधिहरू थिएनन् । १५-२० वर्ष चलाई आएको कर्मचारीमा उसको मानसिकता कस्तो होला भन्नुस् त ! दोस्रो कुरा के हो भने व्यवस्था त बदलियो तर ब्युरोक्रेटिक्स नम्स जे हो त्यही रह्यो । यसमा सुधारको आवश्यकता छ । कर्मचारीलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउनै पर्छ । यी अफ्ठेराहरूलाई समायोजन पछि परिवर्तन गर्छौ । पचासौँ वर्षदेखि जकडिएका समस्याहरू खोतल्दै अहिले अन्तिम यो अवस्थामा पुगेका छौँ । पहिले देखि नै सुधार भएको भए अहिलेको यो अवस्था आउँदैनथ्यो । विगतमा कर्मचारीले जे गरे पनि हुने थियो भने अहिले राजनीतिक नेतृत्वको स्थायी सरकार आएपछि सिस्टममा सुधार ल्याउनु पर्छ । समस्या छन् तर समाधान नगरी धर पाइएन । कतिपय बुझेका छौँ, कतिपय बुझ्न बाँकी छ ।

संरचनागत सुधार र कर्मचारीका आनीबानीमा ल्याउनुपर्ने सुधार त छँदै छन् तत्काल देखिएको समायोजनको निकास चाहिँ के त ?
सम्भव भएसम्म गुनासो गर्नेहरूको मागेको ठाउँमा समायोजन गर्नु नै अहिलेको समस्या समाधान हो । सकारात्मक सोचका साथ जाऔँ । टीकाटिप्पणी मात्र गरेर समस्याको समाधान हुँदैन । हेर्नुस् मैले त पहिल्यै भनेको थिए कि जो जहाँ कार्यरत छन् त्यही समायोजन गरौँ । तर भएन । सरुवाका कुराहरू ओपन गरिदिएको भए पारदर्शी हुन्थ्यो । ऐन राम्रो बनाएको भए यो अवस्था आउँदैनथ्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस