स्वास्थ्य मन्त्रालयको रवैया : १ बजे खाजा खान हिँडेका कर्मचारी ३ बजेसम्म पनि फर्केनन् « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्वास्थ्य मन्त्रालयको रवैया : १ बजे खाजा खान हिँडेका कर्मचारी ३ बजेसम्म पनि फर्केनन्


२७ आश्विन २०७६, सोमबार


काठमाडौँ । मोफसललाई नेपाल नै नठान्ने काठमाडौँको पुरानै रोग हो । परिवर्तनका लागि भएका तमाम आन्दोलनमा ज्यान बढी मोफसलकाले गुमाउँछन् तर त्यसको सबैभन्दा बढी लाभ सिँहदरवारियाहरुले लिँदै आएका छन् ।

मुलुक संघीयतामा गएसँगै काठमाडौँको सिँहदरवार गाउँ गाउँमा स्थापना गरियो भनिएको छ तर गाउँका सिँहदरवार चलाउनेहरू नै फोटोकपी गर्न कालिकोटदेखि काठमाडौँ आउनुपर्छ भने गाउँका सिँहदरवारले स्थानीयलाई दिने सेवा कस्तो होला ?

सन्दर्भ स्वास्थ्य मन्त्रालयको हो । समायोजनमा सबैभन्दा भद्रगोल र असन्तुष्टि देखिएको स्वास्थ्य सेवाका कर्मचारी अझै रनभुल्लमा छन् । स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजन ऐन बमोजिम समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समायोजन भएको पत्र अधिकांश जिल्लामा पुगिसकेको जनाउँदै सोमबाट सम्बन्धित कर्मचारी स्वयं आफ्नो परिचयपत्रका साथ उपस्थित भए मात्र समायोजन पत्रको प्रतिलिपि उपलब्ध गराउने भन्दै मन्त्रालयमा सूचना टाँस गरेको छ । सोही सूचनाअनुसार सयौँ स्वास्थ्यकर्मीहरु बिहानैदेखि मन्त्रालयमा लाइनमा छन् तर एक बजे आएर सम्बन्धित शाखाका कर्मचारीहरूले खाजा खान भन्दै हिँडे तीन बजेसम्म पनि फर्केनन् ।

कर्मचारीले ढाँटेको र दुःख दिएको भन्दै विभिन्न जिल्लाबाट आएर बिहानैदेखि लाइन बसेका कर्मचारी आक्रोशित हुँदै घरी यो शाखा त घरी उ शाखा गर्दै थिए । सूचना टाँस गरेर कर्मचारी भाग्ने ? भन्दै आन्दोलित स्वास्थ्यकर्मीहरुको जवाफ भिड रोक्न उपस्थित प्रहरीले दिन सक्ने कुरै भएन ।

प्रतिलिपि लिन कालिकोटबाट आएका एक स्वाथ्यकर्मी भन्दै थिए- ‘जिल्लामा पत्र आएको छैन भन्दै हाजिर गर्न दिएनन् । फोटोकपी लिएर आइजो भनेपछि ६ दिन अघि काठमाडौँ आएँ । २४ गते सूचना जारी गर्दै २७ गते दिने भन्यो, १० बजेदेखि लाइन लाग्यो । एक बजे आएर खाजा खान निस्के भने अहिले साढे तीन भई सक्यो कर्मचारी छैनन् ।’

अति भएपछि सचिवको सचिवालयमा पुगेको स्वास्थ्यकर्मीले के हो यस्तो पारा भन्दै थर्काए, सचिवालयका कर्मचारीले सचिवज्यूले कर्मचारी खोजेर फोटोकपि गरेर लिनु भन्नुभएको छ भन्दै जवाफ दिए आक्रोसित अर्का स्वास्थ्यकर्मिले भने, ‘अब कर्मचारी खोज्न कहाँ जाने होला ?’

सप्तरीका अर्का स्वास्थ्यकर्मीको आफ्नै गुनासो थियो, ‘समायोजन सच्याउन निवेदन दिएको थिएँ अहिलेसम्म के भयो पत्तो छैन, कसलाई सोध्ने ? कसले भन्ने ?’

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । दैनिक सयौँ स्वास्थ्यकर्मी मन्त्रालयमा उपस्थित हुन्छन् यसै गरी घरी तल घरी माथि उक्लिँदै ५ बज्छ अनि सराप्दै बास खोज्न होटेल तिर लाग्छन् उता गाउँमा सेवा कसले दिने ?

नागरिकलाई परिवर्तनमा महसुसिकरण गराउने कर्मचारी नै राज्यसंयन्त्रबाट उपेक्षित, अपहेलित र पीडित छन् भने तिनले गाउँमा गएर दिने सेवा कस्तो होला ? यसबारे सोधिखोजी कसले गर्ने ?

मन्त्रालयमा आधिकारिक कर्मचारी भेटिँदैनन् । मन्त्रालयको आधिकारिक जानकारी दिने प्रवक्ताले त फोन नै नलाग्ने बनाएर बसेका छन् । भन्छ ‘माफ गर्नुहोला तपाईँको कल फरवार्ड गर्न सकिएन ।’

मन्त्रालयमै गएर भेट्दा भन्छन् ‘मन्त्रालयमा हिँडेको मिटिङ छ । क्यै छ भने पछि कुरा गरौँला’ तर पछि भनेको कहिले र कसरी कुरा गर्ने यसको उत्तर भने तिनै प्रवक्ता महेन्द्र श्रेष्ठसँग मात्रै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस