काठमाडौँ। जिल्ला अदालत कैलालीको भूपेन्द्र बडूवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । लम्कीचुहा नगरपालिका-१ का बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका-१ मा हत्या भएको थियो ।
२६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।
घटनाको ४ वर्षपछि जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई जीवित रहेसम्म जन्मकैद हुने फैसला गरेको हो ।
अदालतले प्रतिवादी रावलसहित आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाही गरी ६ जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म (आजीवन) जन्मकैद सजाय हुने ठहर गरेको छ ।
अदालतका अनुसार प्रतिवादी मदन शाही, हेमन्त शाही, धिरज भन्ने दीपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैदको सजाय सुनाइएको छ भने अदालतले लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई समेत अभियोग दाबी बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको छ ।
प्रतिवादी अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रवीन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई भने अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ हुने अदालतले जनाएको छ ।
यो मुद्दामा सुरूदेखि फरार प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ ।
सजाय तोकिएका १३ जना प्रतिवादीहरूले संयुक्त रूपमा र १५ लाख पीडितलाई दामासाहीका आधारमा क्षतिपूर्ति दिनुपर्ने आदेश पनि भएको छ । उनीहरूबाट जनही २ हजार आठ सयका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने आदेश पनि दिइएको छ ।







