खानेपानी मन्त्री र सचिवहरू सस्तो लोकप्रियताका लागि दिनदहाडै उद्घाटनको तमासा कहिलेसम्म मचाईरहने ? सिंहदरवारका धारामा पानी ल्याउन कति उद्घाटन चाहिन्छ ? नौ पटकले त पुगेन, अब कति थप तडकभडकले मेलम्चीको पानी बग्ला ?
काठमाडौँ । जार र बोतलको पानी विस्थापित गरी आगन्तुक, सेवाग्राही र कर्मचारीले सिधै धाराबाट स्वच्छ पानी पिउन सकुन् भन्ने उद्देश्यले खानेपानी मन्त्रालयले चार वर्षअघि सिंहदरवारका तीन स्थानमा धारा जडान गरेको थियो । तत्कालीन खानेपानी मन्त्री अब्दुल खानले २०७९ चैत १७ गते शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जडान गरिएको धाराको तामझामसहित उद्घाटन गरेका थिए । उनले सिंहदरवार क्षेत्रमा निजी क्षेत्रबाट आउने बोतलको पानी पूर्णरूपमा बन्द गरिने र खानेपानी मन्त्रालयबाट यो अभियान सुरु भइसकेको घोषणा गरे ।
२०८० माघ १ गते सोमबार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि इँटाको बुट्टा प्रिन्ट गरिएको फ्लेक्सलाई भित्ता बनाएर जडान गरिएको धारा खोलेर मेलम्चीको पानी पुनः वितरणको नवौँ उद्घाटन गरे । यो समाचार सञ्चारमाध्यमहरूमा प्राथमिकतासहित प्रकाशित भएको थियो ।
तर, अहिले ती धाराहरूको अवशेष मात्र बाँकी छ, पानी आउँदैन । उद्घाटन भएको केही दिनमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वयं खानेपानी मन्त्रालय अगाडिका धाराहरूमा पानी सुकेपछि यी धाराहरू अहिले ‘मजाक’को विषय बनेका छन् ।
यति मात्र होइन, यसमाथि थप भद्दा मजाक गर्न पनि छोडिएको छैन । उद्घाटन भएको ७५७ दिनपछि खानेपानी मन्त्रालयका अधिकारीहरूले सिंहदरवारभित्रका मन्त्रालय, आयोग, निकाय र कार्यालयहरूमा आगामी जेठभित्र मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु भएको जानकारी दिएका छन् । मन्त्रीको निर्देशनमा बोतल र जारको पानी निषेध गर्ने तयारी भइरहेको भन्दै मन्त्रालयकी सचिव ई. प्रमीलादेवी शाक्य बज्राचार्यले मेलम्चीको पानी वितरणका लागि काम तीव्र गतिमा अघि बढिरहेको बताएकी छन् । यस्तै, २०८२ वैशाख १५ गते मन्त्रालयकी प्रवक्ता ई. मीना श्रेष्ठले पनि मन्त्रीले बोतल र जारको पानी निषेध गर्ने निर्देशन दिइसकेको जानकारी दिइन् ।
सम्बन्धित समाचार: सिंहदरवारमा मेलम्चीको खानेपानी जडान कार्य तीव्र
शासक र प्रशासकहरूका झुटा आश्वासनबाट दूर दराजका नागरिक मात्र होइन, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारसमेत आजित भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले गरेको उद्घाटनलाई लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरे, जुन निकै चर्चित भयो । उनले फेसबुकमा लेखे, “हामीसँग भएको एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार ? एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।”
कहिले, कसले गरे उद्घाटन ?
२०७७ असार २१: सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी र खानेपानी मन्त्री विना मगरले काठमाडौँबाट मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणको शुभारम्भ गरे ।
२०७७ फागुन १०: तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमा पुगेर सुरुङमा पानी पथान्तरणको शुभारम्भ गरे ।
२०७७ फागुन २२: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा विद्युतीय बटन थिचेर पानी हाल्ने कार्यको उद्घाटन गरे ।
२०७७ चैत २०: तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको भृकुटीमण्डपमा निर्मित ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरिन् ।
२०७८ फागुन: तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको हेडवक्र्स अम्बाथानमा पुगेर दोस्रो पटक पानी पथान्तरण गरे ।
२०७९ चैत १९: तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरे ।
२०७९ वैशाख ११: मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को मीनभवनस्थित पानी ट्याङ्कीमा पुगेर भल्भ खोलेर मेलम्ची खानेपानी आयोजनाको पुनः वितरणको उद्घाटन गरे ।
२०७९ मङ्सिर २३: मन्त्री उमाकान्त चौधरीले पुनः मेलम्चीको पानीको शुभारम्भ गरे ।
निष्कर्ष:
नागरिकलाई दिगो सेवा दिनेभन्दा सस्तो लोकप्रियताका लागि बारम्बार घोषणा र उद्घाटनमा हतार गर्ने राजनीतिक नेतृत्वले यस्ता आयोजनाको प्रभावकारितामा ध्यान दिन जरुरी छ । सिंहदरवारभित्रै खानेपानीको यो खेलवाड एउटा प्रतिनिधिमूलक उदाहरण हो । यसमा प्रशासकहरूले समेत अन्धभक्त भएर साथ दिएको देखिन्छ । यस्ता गतिविधिले राजनीति र प्रशासनप्रति आम नागरिकको आलोचना बढ्दो छ ।
त्यति मात्रै होइन, राज्य कोष कसरी दुरुपयोग भई रहेछ भन्ने उदाहरण पनि हो । यदि यस्तै प्रवृत्तिलाई निरन्तरता दिइयो भने नागरिकमा निराशा बढ्न गई परिणाम थप भयावह हुन सक्छ । सम्बद्ध पक्षहरूले समयमै सजग हुनुपर्छ ।