सिंहदरवारकै धारामा आउँदैन पानी, छैन सचिवलाई सरम  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिंहदरवारकै धारामा आउँदैन पानी, छैन सचिवलाई सरम 


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । धमिलो मुहानबाट सफा पानी खोज्नु भनेको मनको लड्डु घिउसँग खानु जस्तै हो । यही भनाई चरितार्थ हुँदै आएको छ नेपालमा । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नै काफी छ उदाहरणका लागि । 

सन्दर्भ हो खानेपानीको । जार तथा बोतलको पानी विस्थापित गर्ने तथा आगन्तुक सेवाग्राही र कर्मचारीले सिधै धाराबाट पानी पिउन सक्ने भन्दै खानेपानी मन्त्रालयले सिंहदरवारस्थित तीन ठाउँमा धारा जडान गर्‍यो । तत्कालीन खानेपानी मन्त्री अब्दुल खानले चैत दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी जोडिएको धारा तामझामका साथ उद्घाटन गरे । अझ सिंहदरवार क्षेत्रमा निजी क्षेत्रबाट आउने बोतलको पानी बन्द गरिने उद्घोषसहित खानेपानी मन्त्रालयबाट सुरुवात भैसकेको भन्न भ्याए । तर यति बेला धाराको अवशेष त छन् पानी छैन । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी जोडिएको धारामा मात्रै होइन, गृह मन्त्रालय अगाडीको धाराबाट पनि पानी आउँदैन, त्यति मात्रै होइन, आफ्नै मन्त्रालय अगाडीको धाराबाटसमेत पानीको थोपा चुहिँदैन । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अगाडी जोडिएको धारा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अगाडी जोडिएको धारा

अब आफै भन्नुस् यो भन्दा विडम्बना र लाजमर्दो अरू केही हुन्छ ? के धारामा पानी किन आएन भनेर मुख्य सचिवले नै सोध्नु पर्ने हो कि प्रधानमन्त्रीले नै निर्देशन दिनु पर्ने हो ? कि गृह मन्त्रीले छानबिन गराउनु पर्ने हो ? 

विशिष्ट श्रेणीका राम आधार साह छन् खानेपानी सचिव । हरेक दिन मन्त्रालय आउँदा र जाँदा आफ्नै आँगनको धारामा दृष्टि नपर्ने कुरै हुँदैन । त्यति मात्रै होइन, गृह मन्त्रालय अगाडीबाट हुँदै प्रधानमन्त्री कार्यालय पुगिरहँदा पनि टाढैबाट टिलिक्क टल्किन्छन् धारा । मन्त्रालयदेखि व्यवस्थापन बोर्ड र उपत्यका खानेपानी लिमिटेडको राम्रै प्रचार छ र पानी पिउँदै गरेको आकर्षक तस्बिर सहित ठुलै अक्षरले पिउने पानी लेखिएको छ, तर धारा बनाएपछि पानी पठाउनु पर्छ भन्ने चेत सचिवमा देखिँदैन । 

तत्कालीन मुख्य सचिव शंकरदाश वैरागीसँगै राम्रै सेटिङ मिलाएर असारको मुखैमा छँदाखाँदाका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालय तान्दै खानेपानी सचिवमा सरुवा मिलाएका साहका किस्सा निजामतीमा अपरम्पार छन्, खैर त्यतातिर अहिले नजाऔँ तर आफ्नै मन्त्रालयको आँगनसहित मात्र तीन थान धारामा त पानी पठाउन नसक्ने सचिवले देशवासीलाई पानी पिलाउँछन् भनेर अब पनि पत्याइ दिनु पर्ने ?

गृह मन्त्रालय अगाडी जोडिएको धारा

सर्वसाधारण नागरिक त कति समय देखि झुक्किँदै आएका छन्, छन् तर धारा जोडेको महिनौँसम्म पनि पानी नपठाएर प्रधानमन्त्री कार्यालयलाई नै झुक्क्याइ दिने ? सरकारको बजेटले मात्रै नपुगेर दातृ निकायको अरबौँ रकम खानेपानी तथा सरसफाइमा खर्च गरिँदै आएको छ तर परिणाम खोज्न बाहिर पुग्नै पर्दैन, यही सिंहदरवार हेरे काफी भएन र ? 

स्वयं खानेपानी मन्त्रालयको अगाडी जोडिएको धारा

त्यसो त खानेपानीमा ठुलो चलखेल हुँदै आएको छ । सिंहदरवारमा मात्रै दैनिक चार हजार कार्टुन बोत्तल जारको पानी खपत हुँदै आएको छ । सकेसम्म सित्तैमा नभए न्यून मूल्यमा उपभोग गर्नुपर्ने पानीमै ठुलो धनराशि खर्च भइरहेको छ । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक तथा प्रवक्ता प्रकाश कुमार राईले  ग्रयाभिटी फ्लोबाट नै सञ्चालन गर्न सकिन्छ भनेर अनामनगरस्थित ट्याङ्कीसँग लिङ्क गरेर जोडेकोले मेलम्चीको पानी आउन्जेलसम्म मात्रै चलेको बताए । ‘मेलम्चीको पानी नआइसकेपछि हामीसँग पानी कम भयो’ राईले भने, ‘अहिले अनामनगरस्थित ट्याङ्कीबाट नै चलाउन सकिन्छ भनेर सुरुवात गरेको र हिजोदेखि आएको पनि होला’ 

मन्त्रालयका सचिव राम आधार साहले पनि आज बिहानदेखि पानी आउन सुरु गरेको बताए । ‘मेलम्चीको पानी बन्द भएपछि धारामा पानी आउन छोडेको थियो’, सचिव साहले भने, ‘अब मेलम्ची नआउँदा पनि पुरानै सिष्टमको धाराबाट जोडेर पठाउन समय लागेको हो, हिजो राती नै काम सकेर आजदेखि पानी आइरहेको छ’ 

महिनौँदेखि धारामा पानी नआएको कर्मचारीहरूको गुनासोपछि प्रशासन डटकमले सोमबार मात्रै यसबारे रिपोर्टिङ सुरु गरेको थियो । 

कागजी घोडा दौडाएर समुन्नति कहिलेसम्म खोजिरहने ? के परिणाम खोज्ने दिन कहिल्यै नफर्किने नै विश्वासमा यो सब भइरहेको हो ? सुधार, समुन्नति र समृद्धि कल्पना र कागजी प्रस्तुतिबाट होइन, स–साना ब्ल्याक एन्ड ह्वाईट वास्तविकताबाट आउने हो । यसर्थ आ–आफ्नो जिम्मेवारी जिम्मेवार ढङ्गले पुरा गरे मात्रै सबै ठिकठाक चल्छ, नत्र  सबै कुराको जवाफ मुख्य सचिव र प्रधानमन्त्रीले नै दिने हो भने यतिका धेरै निकाय किन ? 

Tags :
प्रतिक्रिया दिनुहोस