लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पुनको दाबी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पुनको दाबी


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरेका छन् ।

आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यावसायिक वातावरण बनाउन प्रयासरत रहेकाले नआत्तिन उनको व्यवसायीलाई आग्रह थियो ।

मन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सँगै राखेर व्यावसायिक वातावरण बनाउन निर्देशन दिएको जानकारी पनि दिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायहरूले तर्साउनुभएन भन्नुभएको छ’, पुनले भने, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौँ कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतंकित बनाउने काम गर्दैन ।’

पुनले राजस्व छलीमा भने सरकारले कडाइ गर्ने बताए । मन्त्री पुनले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउन र विदेशी लगानीकर्तालाई नेपाल ल्याउने वातावरण बनाउने काममा लाग्न उद्योगी/व्यवसायीलाई अपिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस