सर्लाही घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्लाही घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै


२२ पुस २०८०, आइतबार


काठमाडौँ । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ ।

नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका-६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैयाको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान राखेका थिए । 

त्यहीकारण वार्ता निष्कर्षमा पुग्न सकेन । घटनाका विषयमा गृह मन्त्रालयले पनि छानविन समिति गठन गरेको छ भने पीडित परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तर पीडित परिवार र प्रदर्शनकारीहरूले भने अस्पताल हस्तान्तरणकै विषयमा अडान लिएका छन् । आइतबार विहानै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शव उठाउने विषयमा छलफल गर्न बैठक राखेका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ । 

जिल्ला प्रशासनले शनिबार निषेधाज्ञा जारी गरेको अवस्थामा समेत प्रदर्शनकारीहरूले शवसहित प्रदर्शन गरेका थिए । बरहथवाका मेयर कल्पनाकुमारी कटुवालले ९ असोजमा अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन नगरेको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । त्यही विवादमा शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

सम्बन्धित समाचार : बरहथवामा मारिएका साहका परिवारलाई दश लाख दिने निर्णय, गृहले बनायो छानबिन समिति

सम्बन्धित समाचार : सर्लाही गोली काण्ड-दोषीमाथि कडा कारबाही गर्ने सिडिओ धमलाको प्रतिबद्धता 

सम्बन्धित समाचार : आन्दोलनकारीको मृत्युपछि बरहथवामा कर्फ्यु आदेश जारी 

सम्बन्धित समाचार : बरहथवा नगरपालिका तनावग्रस्त, एक जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस