सर्लाही गोली काण्ड-दोषीमाथि कडा कारबाही गर्ने सिडिओ धमलाको प्रतिबद्धता  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्लाही गोली काण्ड-दोषीमाथि कडा कारबाही गर्ने सिडिओ धमलाको प्रतिबद्धता 


२१ पुस २०८०, शनिबार


काठमाडौँ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले  सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर प्रसाद साहको मृत्यु भएको घटनाका दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रजिअ धमलाले स्थानीयवासीसँग संयमता अपनाउन अपिल गर्दै सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले मानवीय क्षतिको उचित सम्बोधनको प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त घटनालाई लिएर थप अप्रिय घटना घटन नदिनेतर्फ जिल्ला सुरक्षा समिति संवेदनशील रहेको व्यहोरा उनको अपिलमा उल्लेख छ ‌। वार्ता र संवादको माध्यमबाट समस्या समाधानको पहल भइरहेको उनको भनाई छ । मृतक साहको शव अहिलेसम्म सडकमै छ । पीडित परिवारले साहलाई शहिद घोषणा, बरहथवाका मेयर र गोली चलाउनेलाई कारबाही, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी मृतकको नामबाट नामाकरण र शालिक निर्माण गर्नुपर्नेसहितका माग राखेका छन् ।

वडा नम्बर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि शुक्रवार ५ दलले आन्दोलन गरेको थियो । आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा व्यवसायी साहलाई लागेपछि तत्कालै मृत्यु भयो । मृतक साह आन्दोलनमा थिएनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस