सहकारीबाट बचतकर्ता ठगिएपछि काठमाडौँ महानगरको चासो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहकारीबाट बचतकर्ता ठगिएपछि काठमाडौँ महानगरको चासो


१३ असार २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने क्रम बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ ।

महानगरपालिकाको सहकारी विभागले बुधवार एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारण सभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन आग्रह गरिएको छ ।

यसैगरी महानगरका मेयर बालेन्द्र साहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरूलाई निर्देशन दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई सङ्कटग्रस्त हुनबाट बचाऔँ ।’

सहकारी संस्था र संस्थाका शेयरधनी तथा बचतकर्तालाई अनुरोध गर्दै उहाँले मूल्यवृद्धि र मुद्रास्फीतिले वित्तीय क्षेत्रमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गरेका छन् । महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित तथा मौखिक उजुरीको चाप बढेको उनको भनाइ छ ।

मेयर साहले यस्तो संवेदनशील समयमा सहकारीले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवम् विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवम् व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस