काठमाडौँ । सचिव बढुवाका लागि सहसचिवहरूले दौडधुप तीव्र पारेका छन् । सचिव बढुवा सिफारिस समितिले एक प्राविधिक सचिव(विशिष्ट श्रेणी)का लागि तीन सहसचिवको नाम सिफारिस गरेसँगै तिनै जना आ-आफ्नो सम्पर्क र सम्बन्धका नेतामार्फत शक्तिकेन्द्र रिझाउन लागिपरेका हुन् ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र विश्वबाबु पुडासैनीको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(ऊर्जा) देवेन्द्र कार्कीले जेठ ४ गतेबाट अनिवार्य अवकाशमा गएसँगै वरिष्ठताको आधारमा पहिलो नम्बरमा जल तथा ऊर्जा आयोगका सहसचिव वैद्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शाह दोस्रो र बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुडासैनी तेस्रो नम्बरमा सिफारिसमा परेका थिए ।
समितिको सिफारिसपछि दुई पटक मन्त्रिपरिषद्को बैठक बसे पनि सचिव निर्णयको प्रस्ताव नपरेपछि उनीहरूलाई झन् चलखेलका लागि समय मिलेको हो ।
सामान्यतया: पहिलो नम्बरमा सिफारिसलाई नै सचिव बनाउने चलन रहेपनि कतिपय अवस्थामा दुई र तीन नम्बरबाट पनि सचिव बनाइने गरिँदा आकाङ्क्षीहरूमा महत्त्वाकाङ्क्षा पलाउन गई नितान्त प्रशासनिक पद पनि राजनीतिक जस्तो भइदिने गरेको उदाहरण प्रशस्तै छन् । त्यसमा पनि अवधि कम हुनेहरूले साम, दाम दण्ड र भेद आवश्यकताअनुसार प्रयोग गर्दा निजामतीमा कायम पूर्वानुमानेसमेत ‘सिल्टिमुर’ खाने अवस्था रहन्छ ।
पद रिक्त हुनुअघि नै दौडधुपमा लाग्ने आकाङ्क्षीहरूका लागि यो ६ दिनको अवधि भने निकै उकुसमुकुसपूर्ण रहेको सिंहदरवार विशेष स्रोत बताउँछ । सिफारिस क्रम अनुसार पहिलो नम्बरमा परेका वैद्यकै लागिसमेत उपत्यकाकै एक उच्च राजनीतिज्ञ बालुवाटार पसेसँगै दोस्रोका शाह र तेस्रो नम्बरमा सिफारिस पुडासैनीको ताकत अनुमान गर्न सकिन्छ । ‘सत्ता गठबन्धनकै मुख्य दलका एक वरिष्ठ नेताज्यूले वैद्यको विषयमा लामै कुरा गरेर जानु भयो’, बालुवाटार उच्च स्रोतले प्रशासनसँग भन्यो, ‘शाह र पुडासैनीको लबीका लागि पनि छुट्टाछुट्टै भेटघाट भएको छ’
ती स्रोतका अनुसार वैद्यका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले लबी गरिरहेका छन् । माओवादी नेता वर्षामान पुनमार्फत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्म पनि वैद्यको कुरा पुगेको सूत्रको भनाई छ ।
यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवकोमै अखडा बनाएका राम आधार शाह बिमलेन्द्र निधिलगायत अन्य मधेसी नेताहरुमार्फत् शक्तिकेन्द्रमा सेटिङ मिलाउँदै छन् । निजामतीका चर्चित पात्र उनी कुनै पनि हालतमा सचिवमा उक्लिने दाउमा छन् ।
यस्तै सिफारिसमा नाम अटाउने भएपछि प्रदेशमै भएपनि पुडासैनी बोक्ने टोली पनि केही समय अघि नै बालुवाटार छिरिसकेको छ । सबैलाई रिझाउन सक्ने खुबीका पुडासैनीको सम्पर्क र सम्बन्धबारे पनि निजामतीतन्त्र जानकार छ ।
त्यसो त वैद्य, शाह र पुडासैनी तीनै जना सचिवसम्म पुग्छन् । वैद्यको २०८३ असोज १६ गतेसम्म छ भने शाह ०८३ वैशाख १० र पुडासैनीको त ९० साल असार १२ गतेसम्म छ ।
केही महिनामै सहरी विकास प्राविधिक सविचद्वय सागर कुमार राई र सहरी सचिव रमेश सिंह अनिवार्य अवकाश हुँदै छन् र त्यति बेला अहिले सिफारिसमा परेका तीन जना सचिव भई सक्नेछन् यदि नियमित प्रक्रियाबाट बढुवा भएको अवस्थामा मात्रै ।
यसपछिको बढुवामा दौडधुप र चलखेलले अझ बढी तीव्रता पाउने देखिएसँगै अहिलेकै बढुवाबाट उम्किन पाए हुन्थ्यो भन्ने दाउमा छन् तीनै जना । किनकि अव को सिफारिसमा भौतिक मन्त्रालयका सहसचिव केशव कुमार शर्मा विडारी पनि अटाउँदै छन् ।
शर्मा अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सहसचिव बुद्धि सागर लामिछाने रहे पनि उनले तालिम नै नलिएका कारण ०८२ चैत्र ९ गतेसम्म अवधि भएका शर्माको तालुमा आलु फल्ने भएको हो । र, तेस्रो नम्बरमा उक्लिए पनि उनले शक्तिकेन्द्र रिझाएर सचिव हत्याउन सक्ने डर सबैमा देखिन्छ । केही महिना अघि मात्रै थप गरिएको प्राविधिक सचिव दरबन्दीका लागि शर्माले अत्यधिक प्रयास गरेका थिए तर चौतर्फी दबाबका बाबजुद एउटा मात्रै थप भएको थियो ।
सम्बन्धित समाचार: यी सचिवका लागि थपिँदै छ सचिव दरबन्दी
दुई प्राविधिक र एक प्रशासन गरी तीन सचिवका दरबन्दी थपका लागि पपञ्च रचिए पनि अन्ततः एक÷एक गरी दुई दरबन्दी थप भयो ।
सम्बन्धित समाचार : तीन सचिवको दरबन्दी थपिँदै
सम्बन्धित समाचार : दुई सचिवको दरबन्दी थप, आधा दर्जन सचिवको सरुवा
सरुवाका लागि होस् या बढुवा, प्राविधिकतर्फ अत्यधिक चलखेल हुँदै आएको तथ्य निजामतीमा जगजाहेर छ । विकास निर्माणसँग सम्बन्धित हुने त्यसभित्र पनि पछिल्लो पटक राजनीति नराम्ररी घुसेसँगै ‘ठेकेदार-राजनीति-कर्मचारी’को गठजोडले काम गर्न थालेपछि कतिपय विज्ञ र इमानदार प्राविधिक कर्मचारीले आलोचना खेप्नु परिरहेको अवस्था छ ।
यता सेवा प्रवाहकै कारण आलोचित बन्न पुगेको सिङ्गो कर्मचारीतन्त्रलाई यस्ता कार्यले थप रसातलमा पुर्याउने पक्का छ ।
निर्णय हुनुअघि कसको दौडधुप कहाँ भईरहेको छ भन्नेबारे अपडेट गर्दै जानेछौँ ।







