दुई सचिवको दरबन्दी थप, आधा दर्जन सचिवको सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुई सचिवको दरबन्दी थप, आधा दर्जन सचिवको सरुवा


२५ पुस २०७८, आइतबार


काठमाडौँ । सरकारले सचिवको दरबन्दी थपसहित केही सचिव(विशिष्ट श्रेणी)को सरुवा गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले दुई(प्राविधिक/प्रशासन) पद थपसहित ६ जना सचिवहरूको सरुवा गरेको हो । 

विशिष्ट श्रोतबाट प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बागमती प्रदेश प्रमुख सचिव किरण राज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रदेश नं. २ का प्रमुख सचिव हरि प्रसाद मैनालीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ल्याइएको छ भने सो मन्त्रालयकी सचिव याम कुमारी खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दरबन्दी राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । 

यसैगरी सुदूर पश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकोटी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे जल तथा ऊर्जा आयोगमा सरुवा गरी उनको ठाउँमा केही दिन अघि मात्रै खारेजीमा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीलाई व्यवस्थापन गरिएको छ । 

यस्तै बुधवारकै मन्त्रिपरिषद्ले सचिवमा बढुवा गरेको वरिष्ठ सहसचिव कृष्ण बहादुर रावतको पनि पदस्थापन हुँदैछ । प्रदेश नं. २ बाट मैनाली मन्त्रालय आएपछि सोही ठाउँमा खटाउने कि भनिए पनि बागमती प्रदेशबाटसमेत शर्मा रक्षा मन्त्रालयमा आएपछि उनलाई बागमतीमा नै खटाउने कि भन्ने कुरा भएको छ । 

सरकारले एक जना प्राविधिक सचिवको दरबन्दी थपसहित प्रशासनतर्फ विशेष सचिवको व्यवस्था गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै प्राविधिक सचिव दरबन्दी खडा गरी त्यहाँ यसअघि शहरी विकास मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा राखिएका सचिव रमेश सिंहलाई राखिएको छ । ‘सेटिङ’मा काम गरेको भन्दै शहरी मन्त्री राम कुमारी झाक्रिले आउट गरेपछि अतिरिक्तमा पुगेका उनी अन्ततः दरबन्दी नै खडा गरेर थमौती भएका छन् र केही समयपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जाने दाउमा छन् । 

यसैगरी स्वास्थ्य मन्त्रालय(जनसङ्ख्या) हेर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका खगेन्द्र प्रसाद नेपालका लागि विशेष पद सिर्जना गरिएको छ । कार्यालयमा काम गर्दै गर्दा अशक्त बनेका नेपाललाई असार २८ गते सरकारले सचिवमा बढुवा गरेको थियो । हिँडडुलमा नै केही समस्या रहेको र सहयोगी कर्मचारीकोसमेत आवश्यकता पर्ने उनलाई अहिले प्रधानमन्त्री कार्यालयमै राखिएको छ । सरकारले थप गरेको विशेष पद नेपालसँगै खारेज हुनेछ । 

स्वास्थ्यकै कारण प्रशासनतर्फ विशेष पद थप्नु ठिकै भएपनि प्राविधिकतर्फको दरबन्दी अनावश्यक भार भएको प्रशासन विद्हरूको ठहर छ । ‘यदि करियर पथका लागि हो भने क्लष्टरमा मिलाएर ज्येष्ठअनुसार बढुवा हुने व्यवस्था गराई दिए हुन्थ्यो’ एक पूर्वमुख्यसचिवले भने, ‘खास खास व्यक्तिका लागि खास पद सिर्जना गर्नु कदापि ठिक होइन ।’ 

प्राविधिक तर्फ दुईसहित तीन सचिवको दरबन्दी थपको प्रस्ताव अघि बढाइएको समाचार प्रशासन डटकमले ब्रेक गरेको थियो । जसअनुसार प्रधानमन्त्री कार्यालयसहित लगानी बोर्डमासमेत एउटा पद सिर्जना गरेर त्यहाँ तत्काललाई शुशिलचन्द्र तिवारीलाई व्यवस्थापन गर्ने तयारी गरिएको थियो तर उक्त समाचार प्रकाशनपछि निजामती वृत्तमा चौतर्फी विरोध भएसँगै एउटा मात्रै पद थपिएको छ । 

सम्बन्धित समाचार :  तीन सचिवको दरबन्दी थपिँदै

चुस्त बनाउनु पर्ने सङ्घीय सरकार भद्दा देखिएको र हालकै सचिवहरूको सङ्ख्या धेरै भएको अवस्थामा सचिवको दरबन्दी थपबाट के गर्न खोजिएको हो ? भन्ने नै नबुझिएको नेपाल सरकारका एक सचिव बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गोठ बनाउन थालिएकोसमेत उनको भनाई छ । ‘मुख्यसचिवसहित बढीमा तीन जना सचिवले चलाउन सकिने कार्यालयमा दर्जनको सङ्ख्यामा पुर्‍याउन थालिएको छ’, ती सचिवले भने, ‘यसो हेर्दा महाशाखै अनुसार सचिव राख्ने जस्तो पो देखियो त !’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाल ५ जना सचिव दरबन्दीमा रहेका छन् । जसमध्ये सचिव शिशिर कुमार ढुङ्गाना(आर्थिक तथा पूर्वाधार विकास), लक्ष्मण अर्याल(प्रशासन र नतिजा व्यवस्थापन), राम प्रसाद थपलिया(प्रादेशिक समन्वय र सामाजिक विकास), सूर्य गौतम(राष्ट्रिय सुरक्षा र सुशासन) र धनराज ज्ञवाली(कानुन तथा मानवअधिकार) गरी जिम्मेवारी तोकिएको छ ।

र, शंकर दाश वैरागी मुख्यसचिवसहित ६ जना सचिव(विशिष्ट) श्रेणीका कर्मचारी कार्यरत छन् । यसमा रमेश सिंह र याम कुमारी खतिवडा गरी दुई जनालाई थपेसँगै ८ जनाको दरबन्दी कायम हुन पुगेको छ भने अतिरिक्त भनेर तानिएका मधुसूदन बुर्लाकोटीले हाजिर गर्ने ठाउँ पनि प्रधानमन्त्री नै हो र विशेष पद सिर्जना गरिएका नेपाल पनि यही कार्यरत छन् । यी सबै जोड्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको दरबन्दी १० पुगेको छ । 

अमुक व्यक्तिका लागि पद थप्ने र घटाउने कार्यले निजामतीलाई अस्थिर बनायो भनिरहँदा र हालकै संरचनामा पनि आधा दर्जन मन्त्रालयमा दुई-दुई जना सचिव कायम रहेको अवस्थामा थप सचिवको आवश्यकताबारे भने बुझ्न सकिएको छैन । 

सम्बन्धित समाचार : यी सहसचिवका लागि थपिँदै छ सचिव दरबन्दी

मुलुकले जतिसुकै परिवर्तन गर्‍यो भनेपनि जनताले पाउने सेवा सुविधामा भने खासै फरक नदेखिएको कुरा जगजाहेर छ । यसर्थ सङ्ख्या थपेर होइन, गुणस्तरमा ध्यान दिन सके मात्रै त्यसले सरकार, संस्था र नागरिकलाई परिवर्तनको अनुभूति दिलाउने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस