‘राज्यले महिलालाई प्रायोरिटी दिएकै छैन’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘राज्यले महिलालाई प्रायोरिटी दिएकै छैन’


२२ भाद्र २०७४, बिहिबार


निजामती सेवाका उपल्लो तहमा महिला कर्मचारीको उपस्थिति निकै न्यून छ । करीब ७० को हाराहारीमा रहेका सचिवमध्ये दुई जनामात्रै महिला छन् । सहसचिवमा पनि महिलाको संख्या न्यून छ । उपल्लो तहमा किन महिला कर्मचारी पुग्न सक्दैनन् त ? महिलाले उपल्लो तहमा पुग्न के गर्नुपर्ला ? यसै सेरोफेरोमा पूर्वसहसचिव जीवनप्रभा लामासँग प्रशासन डट कमका सिद्धराज उपाध्यायले गरेको कुराकानी ।

निजामती सेवाको बिशिष्ट श्रेणीमा महिलाको प्रतिनिधित्व औलामा गन्न लायक मात्रै देखिन्छ, किन ?
विशिष्ठ श्रेणीमा महिलाको संख्या एकदमै न्यून छ । अहिलेको कुरा गर्ने हो भने दुइ जना मात्रै महिला सचिव छन् । प्रथम श्रेणीमा पनि महिलाको अवस्था न्यून छ । यसले निजामती सेवामा राज्यले महिलालाई प्रायोरिटी नदिएको हो की जस्तो देखाउँछ ।

निजामती सेवामा महिलालाई माथिल्लो तहमा पुग्न धेरै समय लाग्नु र महिला उपस्थिति कम हुनुले पनि उपल्लो तहमा महिला पुग्न सकेका छैनन् । अर्काे कुरा निजामती सेवामा पास हुनेको संख्या पनि कम छ । चाहे त्यो बढुवाबाट होस् या अन्यबाट ।

निजामती सेवामा महिलालाई उपस्थिति अनुसारको जिम्मेवारी पनि दिएको देखिँदैन नि ?
जिम्मेवारी पाउन आफूले पनि मेहेनत गर्नुपर्दो रहेछ, मैले त्यो रियलाइज गरेको छु । आफूलाई सक्षम देखाउनु पर्छ । जस्तो तल्लो लेभलमा हुँदा टिममा काम गरिन्छ । टिममा काम गर्दा पनि लिडरसिप आफूमा जेनेरेट गर्नुपर्छ । कमीकमजोरी महिलामै छ । त्यसकारण महिलाले अझ बढी रेस्पोन्सबिलिटी देखाउनुपर्छ जस्तो लाग्छ । महिलाहरुबीच भेटघाट हुँदा तथा एकअर्कामा छलफल हुँदा पनि कसरी अगाडि बढ्न सकिन्छ लगाएत समसामयिक परिवेशमा छलफल चलाउन सकियो भने त्यसले पनि केही हदसम्म सहयोग पुग्छ ।

आफ्नो कमीकमजोरीबारे ओपन भयो भने अगाडि बढ्न सजिलो हुन्छ । मलाई पनि त्यो फिल भएको थियो । महिला भएर मैले महिलालाई बाइस चाहिँ गरेको होइन ।

महिला कर्मचारीले उपल्लो तहमा पुग्न के गर्नुपर्ला ?
पहिला आफ्नो विकास गर्ने, गोल सेट गर्ने । आफ्नो कार्यालयको गोल त भइहाल्छ । आफूले पनि गोल सेट गर्ने मैले यति समयमा यति काम गरेर देखाउनु पर्छ भनेर । किनभने डबल प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । दोस्रो आफूले निरन्तर अध्ययन गर्दै जाने जानकारी राख्ने । मैले के देखेको छु भने दुई पुरुष साथी भेट भयो भने पोल्टिकल कुरा र प्रोजेक्टबारे छलफल गर्छन् । तर, दुई महिला बस्यो भने त्यो कुरा हुँदैन, अर्काको कुरामा अल्झिन पुग्छन् ।

यसकारण महिलाले आफ्नो विषयवस्तुमा पनि अझ बढी अध्ययन गर्नु आवश्यक छ । अन्तर्राष्ट्रिय क्षेत्रमा के भइरहेको छ त्यसबारे जानकारी लिएर अनुभव सेयरिङ गर्न सक्नुपर्छ । आफूलाई कहिल्यै कमजोर ठान्नु हुँदैन ।

‘हामी सक्छौं’ भन्ने भावनाको विकास गर्नुपर्छ । काम गर्दा कति सक्सेस हुन्छ त कति फेलियर पनि । ‘फेलियर हुनु सफलताको कडी’ भन्ने बुझ्नुपर्छ । अनि मात्र समस्या समाधान हुन्छ र महिला अघि बढ्न सक्छन् ।

अहिले त महिला सिडियो भएका छन् । बाहिर जिल्लामा गएर काम पनि गरिरहेका छन् । त्यसकारण अब महिला अझ बढी सबल भएर आउँछन् जस्तो लाग्छ । यसबारे म एकदमै सकारात्मक छु । अब महिलाको अवसर आएको छ है ।

सहसचिव भन्दा माथि राजनीतिले पनि त्यतिकै भूमिका खेलेको देखिन्छ । राजनीतिक नेतृत्वमा महिला कम भएकाले पनि यसको केही न केही असर निजामतिमा पनि देखिएको हो कि ?
मलाई के लाग्छ भने महिला नेतृले पनि महिलाका लागि बोलेको देखिएको छैन । महिला कर्मचारीको कुरा मात्र होइन, राजनीतिक नेतृत्वमा पुगेका महिला पनि एउटै भावनामा संगठित हुन सकेका छैनन् । अर्काे, आफू इन्भल्भ नहुने भएकाले पनि उनीहरूले यो कुरा प्रायोरिटीमा नलिएको हुनसक्छ । यो नै मुल समस्या नै हो ।

महिलालाई चुनौतीपूर्ण काम दिन नेतृत्व तह हिच्किचाउँछन् भनिन्छ नि ?
त्यो कुरा साँचो हो । म महानिर्देशक हुने बेलामा पछि थाहा पाएँ । म भन्दापछाडि एक जना पुरुष हुनुहुन्थ्यो । उहाँलाई दिन तयारी भइसकेको रहेछ । मैले हल्ला सुने, तपाइ त सेकेन्ड मेन हुनुहुँदैछ भनेर । सिनियारिटी बाइपास गरेर दोस्रो व्यक्तिलाई दिँदैछन् भनेपछि मैले पनि धेरै मेहेनेत गर्नुपर्यो । म सक्षम छु भनेर प्रमाणित गरेर आफूलाई महानिर्देशकसम्म ल्याए । त्यसपछि अझै चुनौती थपियो । मैले अघि भने जस्तो आफ्नो गोल सेट त छँदै थियो । अझ पुरुषलाई उछिनेर काम गर्छु भनेर यत्रो कमिटमेन्ट गरेर आएकाले अझ बढी काम गर्नुपर्छ भन्ने लाग्यो ।

महिलालाई जिम्मेवारी दिँदा काम गर्न सक्दैन कि भन्ने प्रश्न उठ्छ । तर, त्यही काम पुरुषलाई दिनुपर्यो भने त्यो प्रश्न नै आउँदैन । अझै पनि यो माइन्डसेट छ । यसले पछि भविष्यमा पनि समस्या ल्याउँछ । अहिलेसम्म त महिला थोरै छन् । एक जना भए उनले जिम्मवारी पाउँछन् । पछि धेरै महिला आए भने यो समस्याले ठूलो रूप पो लिन्छ की जस्तो पनि लागिरहेको छ ।

महिला र पुरुष कर्मचारीबीच रहेको विभेदलाई कसरी हेर्नु भएको छ ?
जन्मदेखि नै विभेद्मा हुर्केको हुन्छ । छोराको छ महिनामा पास्नी गरिन्छ भने छोरीको पाँच महिनामा । यहीँबाट विभेद् सुरु भएको छ । महिला समाजमा यति धेरै विभेद् पार गर्दै आएको हुन्छ । त्यसले गर्दा उसले आफू सक्षम छु भन्ने नै फिल गर्दैन । म तपाइलाई एउटा उदाहरण भन्छुः हामी स्कुल पढ्दै गर्दा पाँच कक्षासम्म महिला धेरै पुरुष कम थिए । १० कक्षामा पुग्दा हामी दुई जना मात्र महिला रह्यौं । हामी पहिलो र दोस्रो हुन्थ्यौं । त्यसबाहेक अरु थिएनन् । समाजले हेर्ने तरिका पनि भिन्न थियो । छोरीलाई पढ्न वा अन्य कामका लागि छोरीले बाहिर जानुहुँदैन भन्ने मान्यता थियो । एउटा के रहेछ भने एक्स्ट्रा एक्टिभिटीमा जो इन्भल्भ हुन्छ त्यसको करियर डेभ्लोप्मेन्ट चाहीँ राम्रो भएको छ । त्यो पार्टमा महिलाले अवसरै पाएका छैनन् । उसले घरको काम गर्नुपर्ने पढाइ पनि गर्नुपर्ने हाम्रो पितृसत्तात्मक समाजले गर्दा विभेद् जन्मैदेखि सुरु भएपछि त्यो जागिरमा त अवश्य हुन्छ ।

जो विशिष्ठ श्रेणीको लाइनमा पुगेको छन् ति महिला कर्मचारीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अहिले जो हुनुहुन्छ । उहाँहरू असाध्यै राम्रो व्यक्ति आउनुभएको छ । प्रतिस्पर्धा गरेर आउनुभएको छ । यहाँहरूले सधै आफ्नो गोल सेटिङ अरुभन्दा डबल गर्नुपर्ने हुन्छ । पुरुषभन्दा बढी काम गरेर देखाउनुपर्ने हुन्छ ।

मेहनत पनि गर्नुपर्ने हुन्छ । त्यसैले सधै तयारी अवस्थामा रहनुपर्छ । निजामती ऐनले पनि महिलाका लागि अवसरको बाटो खोलिदिएको छ । त्यसलाई पनि अवसरका रूपमा लिएर आगाडि बढ्नुपर्छ । मलाई लाग्छ भविश्यमा सायद कुनै दिन महिला मुख्य सचिव पनि हेर्न पाउछौं होला । म माथिल्लो तहमा पुगेका महिलालाई शुभकामना दिन चाहन्छु ।

निजामती सेवामा महिलाको प्रतिनिधित्व राज्यले के गर्नुपर्छ ?
महिलाको आदर्श भनेको कामको प्रतिबद्धता हो । त्यसैले उसले भूमिका अनुसारको काम गर्न सफल हुन्छ भन्ने लाग्छ । सरकारले महिला कर्मचारीका लागि विशेष सुविधा थप गर्नुपर्छ । महिलालाई उत्प्रेरणा पनि दिनुपर्छ । र, राम्रो काम गर्ने महिलालाई पुरस्कृत गर्नुपर्छ ।

र यो पनि,

‘योग्यता पुगेर पनि सचिव हुन पाइनँ’

Tags :
प्रतिक्रिया दिनुहोस