काठमाडौँ । नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई वितरणमुखी भएको टिप्पणी गरेको छ ।
बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै काँग्रेसका सचेतक निष्कल राईले राज्यको खर्च कार्यान्वयन क्षमता कमजोर रहेका अवस्थामा बजेटको आकार बढाउँदैमा सकारात्मक उपलब्धि सुनिश्चित नहुने बताए ।
उनले उत्पादनशील क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइए बजेट प्रभावकारी कार्यान्वयनमा चुनौती आउने धारणा राखे । उनका अनुसार बजेटको आकार ठूलो बनाउनु मात्र पर्याप्त नभई त्यसले उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्न सक्नुपर्छ ।
सचेतक राईले यसपटकको बजेट विगतका कार्यक्रमकै निरन्तरताजस्तो देखिएको प्रतिक्रिया पनि दिए ।
यद्यपि कर प्रणाली तथा कर प्रशासन सुधारतर्फ केही परिवर्तनको प्रयास गरिएको उल्लेख गर्दै उनले त्यसलाई बजेटको सकारात्मक पक्षका रूपमा व्याख्या गरे ।
उनका अनुसार सरकारले अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने तथा त्यसलाई व्यवस्थापन गर्ने दिशामा समेत केही पहल गर्न खोजेको देखिन्छ ।







