काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा तोकिएको आरक्षित सिट व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन नगरे कानुनी कारवाही गरिने चेतावनी दिएको छ।
शुक्रबार जारी सूचनामार्फत विभागले यात्रुवाहक सवारीमा अपाङ्गता भएका व्यक्तिका लागि चार र महिलाका लागि दुई सिट अनिवार्य रूपमा छुट्याउनुपर्ने प्रावधान स्मरण गराएको हो। तर, लामो तथा छोटो दूरीका सवारी साधनहरूमा उक्त व्यवस्था पूर्ण रूपमा पालना नभएको पाइएको भन्दै कडाइ गर्ने संकेत गरिएको छ।
विशेष गरी लामो दूरीका सवारीका हकमा यात्रु प्रस्थान समयभन्दा कम्तीमा चार घण्टाअघि सम्म आरक्षित सिट सुरक्षित राख्नुपर्ने व्यवस्था लागू गर्न पनि विभागले स्पष्ट पारेको छ।
यसअघि भाडा समायोजनका सन्दर्भमा पनि विभागले यही प्रावधान कार्यान्वयनमा ध्यान दिनुपर्ने विषय उल्लेख गरेको थियो।








