काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले हेटौँडास्थित मध्य पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन्। प्रधान सेनापति सिग्देलले आज आइतबार हेटौँडा पुगेर पृतना हेडक्वाटरको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षण भ्रमणका क्रममा उनले पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा अवस्था तथा समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए। साथै प्राप्त जिम्मेवारीहरू उच्च ढंगले सम्पादन गर्न आवश्यक निर्देशन दिएका छन्।

उक्त अवसरमा प्रधान सेनापतिले प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेलका पदाधिकारीहरूसँग भेटघाट तथा अन्तरक्रिया समेत गरेका थिए।
नेपाली सेनाले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ।







