काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले राष्ट्रिय सभामा सांसदले सोधेको प्रश्नको उत्तर आफूलाई थाहा नभएको भन्दै सहसचिवसँग सोधेर बताउने अनुमति मागेकी छन्।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट मन्त्री श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकी थिइन्। प्रस्तावपछि भएको छलफलका क्रममा सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए। सोही क्रममा सांसद तारामान स्वारले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री श्रेष्ठले आफू सम्बन्धित मन्त्रालयको नभएकाले सबै विवरण थाहा नभएको बताइन्।
उनले सभाध्यक्ष नारायणप्रसाद दाहालतर्फ हेर्दै सहसचिवसँग सोधेर जवाफ दिने भन्दै पाँच मिनेट समय दिन अनुरोध गरिन्। उनले भनिन्, “म सम्बन्धित मन्त्रालयको होइन। सहसचिवज्यूले टिप्पणीमा लेखिदिनुभएको जति मात्र थाहा छ। एक चोटि सोधेर आउँ, मलाई पाँच मिनेट दिनुस्।” बैठकका क्रममा मन्त्री श्रेष्ठले केही शब्द उच्चारण गर्न नसक्दा सभाको माहोल केहीबेर रमाइलोसमेत बनेको थियो। ‘यथार्थपरक’ शब्द उच्चारण गर्न उनलाई कठिन भएको थियो भने ‘आदरणीय सभा’ भन्नासाथ बैठक हलमा हाँसो गुन्जिएको थियो। बुधबार बसेको राष्ट्रिय सभा बैठकले चलचित्र विधेयक, २०८१ सर्वसम्मत रूपमा पारित गरेको छ।







