काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजे सम्म ८६१ उम्मेदवारले मनोनयन पत्र दर्ता गराइसकेका छन्
निर्वाचन आयोगका अनुसार ती निर्वाचन क्षेत्रमा उत्साहपूर्वक उम्मेदवार दर्ता भइरहेको छ। आजै अपराह्न ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिने छ।
भोलि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिनेछ। माघ ८ गते साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ। माघ ९ गते बिहान १० बजे देखि अपराह्न १ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन्।
त्यसै दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ। यसपछि अपराह्न ४ देखि साँझ ७ बजे सम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।







