काठमाडौँ । एक हातमा कागजपत्र अर्को हातमा नाति । मलिन अनुहारले नै भनिरहेको थियो, उनी कुनै समस्यासँग जुधिरहेका छन् । मंगलबार सिंहदरवारको गेटमा देखिएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति मागे, “मभित्र जानु छ हजुर ! मैले कसैलाई चिनेको छैन भित्र जानका लागि, तर भित्र नगई भएको छैन ।”
प्रहरीलाई बिरामी नातिको उपचारका लागि सहयोग माग्न भित्र जानै पर्ने बाध्यता सुनाए। भट्टले जति नम्र भएर कुरा गर्दै थिए उति नै नम्रतासहित प्रहरीले गृह मन्त्रालयको लेन्डलाइनमा फोन गरेर समस्या सुनाउन र अनुमति माग्न सुझाए ।
भट्टले तुरुन्तै फोन गरे र उसैगरी समस्या सुनाउँदै भित्र आउने अनुमति मागे । टेलिफोनमा कुरा गरेको दुई तीन मिनेट नपुग्दै भट्टले नागरिकता देखाएर प्रवेश अनुमति पाए ।
उनी पहिलो पटक सिंहदरवार पसेका भने होइनन् । भट्टले मंगलबार पहिले जसरी सिंहदरवार पस्न जस्तो संघर्ष भने गर्नुपरेन । सहज र सम्मानित ढंगले सिंहदरवार प्रवेश पाउनु उनका लागि खुसीको क्षण थियो ।
“विगतमा सिंहदरबार छिर्न सांसद र नेतालाई गुहार गर्नुपर्थ्यो, यसपटक सजिलै प्रवेश पाएँ, अचम्मै पो लाग्यो”, भट्टले खुसी हुँदै भने, “बल्ल जनताको सिंहदरवार भएजस्तै महसुस गरेँ ।”
भित्र प्रवेश गरेपछि भट्टले नातिलाई औँलाले इशारा गर्दै सिंहदरवारको परिवेश सुनाए । सम्भव भएसम्म त्यहाँ घुमाए । उनमा सिंहदरवारमा पस्नुको उत्साह मात्रै थिएन, त्योभन्दा ठूलो यहाँसम्म आउनुको आशा र जिम्मेवारी थियो । बोल्न र सुन्न नसक्ने नातिको अँध्यारो वर्तमानलाई चिर्न र उज्यालो भविष्यका लागि आशाको दियो बाल्नु थियो ।
भट्टले हामीलाई सुनाएअनुसार उनी ६३ वर्ष पुगे, यो उमेरमा विगत चार/पाँच वर्षदेखि नातिको स्वास्थ्य समस्या समाधानका लागि संघर्षरत छन् । “दैवको खेल भनु कि भाग्यको खेल”, उनी आफ्नै नियतिमाथि शंका गर्दै भन्छन्, “नातिले बोल्न र सुन्नसक्ने भयो भने जीवनमा कुनै गुनासो हुन्थेन ।”
भट्ट बिरामी नातिलाई निको बनाउनकै लागि दार्चुला मार्मा गाउँपालिका-२ बाट काठमाडौँमा आई बस्न थालेको दुई वर्ष भयो । नाति अरुण हुर्किंर्दै गएपछि न बोल्न सके न सुन्न । जिल्ला अस्पतालले विसं २०७८ मा उपचारका लागि कान्तिवाल अस्पताल जान सुझायो । सोहीअनुसार उक्त अस्पताल गए पनि नातिको उपचारमा थप जटिलता देखिएपछि अस्पतालले टिचिङ अस्पताल पठायो ।
बिरामी नातिको उपचारका क्रममा भोगेका दुःख सुनाउँदै भट्टले भने, “टिचिङमा उपचारकै लागि तीन वर्ष अस्पतालको श्ययामा बस्नुपर्यो । घरको आर्थिक स्थिति नाजुक छ । उपचारका क्रममा रु ६९ हजार तिर्न नसक्दा उपचार नै रोकियो ।”
विगतको अवस्था सम्झेर उनको मन आत्तिन्छ । जसोतसो गरी रु. १७ लाख ५० हजार जुटाएर नातिको उपचार गरे पनि बाँकी उपचारका लागि खर्च जुटाउन नसक्दा सिंहदरवार धाउनुपरेको उनले बताए ।
हातमा वडाको सिफारिस लिएर गृह मन्त्रालयमा पुग्नुभएका भट्टले दैनिक थेरापी गर्न ३० मिनेटको रु. ९०० र एक पटक ‘म्यापिङ’ गर्न चार हजार ५०० खर्च लाग्ने गरेको सुनाए । उनले सुनाएअनुसार घरमा सबै बिरामी छन् । श्रीमती पत्थरी र किड्नी तथा छोरा मुटुको बिरामी छन् । घरका तिनै जना दीर्घ रोगले थला परेपछि उनको बुढो काँधमा बोझिलो जिम्मेवारी आएको छ ।
“आम्दानीको स्रोत छैन, कमाउने छोरो थला पर्यो । कलिलो नातिलाई जसरी पनि बचाउनु छ । धेरै चोटि सहयोगको सिंहदरवार आएको छु । हरेक सरकार आउँदा नाति बचाउन सिंहदरवार धाउँदै आएको छु”, उनले भने, “यसपटक नागरिक सरकार बनेको सुने । त्यसले केही सहयोग गर्छ कि भनेर झिनो आशा बोकेर सिंहदरवार पसेको हु ।”







