काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुन:स्थापना गरिएको छ ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का वडाध्यक्ष आशामान संगत, महानगरपालिकाका नगर उपप्रमुख सुनिता डंगोलले आज विधिपूर्वक पूजा गरी उक्त मूर्ति पुन:स्थापना गरेका हुन् ।
छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा आजदेखि ब्रह्मा मन्दिरमा पुन:स्थापना गरिएको वडाध्यक्ष संगतले जानकारी दिए । उनले भने, “संरक्षणको अभावमा मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । आज हामीले मूर्तिलाई मन्दिरमा पुन:स्थापना गरेका छौँ ।”
काठमाडौँ महानगरपालिका-८ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुईतले मन्दिरमा बाजागाजा र बग्गीसहितको र्यालीले आज मूर्तिलाई मन्दिरमा पुन:स्थापना गरेको छ ।
छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको उक्त चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएपछि भग्नावशेष मात्र रहेकाले मूर्ति पनि चोरी भएको र पछि उक्त मूर्ति धोबीखोलामा भेट्टाइएको थियो ।
उक्त मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको वडाध्यक्ष संगतले बताए । विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनाएको उक्त मन्दिरलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पुन:निर्माणका लागि शिलान्यास गरेका थिए । ब्रह्मा मन्दिर इट्टा माटो र काठबाट निर्मित मन्दिर दुई तलाको प्यागोडा शैलीमा निर्माण गरिएको छ ।







