काठमाडौँ । दोलखाको बिगु गाउँपालिका-६, आलम्पुमा ट्र्याक्टरको ढालाबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखा अनुसार बिहीबार बेलुका गुन्सास्थित भित्री कच्ची सडक खण्डमा चिम्टे रथालबाट आलम्पुतर्फ ढुंगा लोड गरी आँउदै गरेको प्र.१-०१-००१ त ८८७२ नं. को ट्र्याक्टरको ढालाबाट खसेर बिगु ६ आलम्पुका ४० वर्षीय मानबहादुर थामीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, मृतक थामीको ट्र्याक्टरको ढालाबाट खसेर घटनास्थलमै ज्यान गएको हो । ट्र्याक्टर घटनास्थलमै रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी टोली घटनास्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।







