हङकङ । नेपालका लागि हङकङ विशेष प्रशासनिक क्षेत्रका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकले हङकङका प्रमुख कार्यकारी माननीय जोन लीसँग भेटवार्ता गरेका छन्। भेटवार्ता बुधवारका दिन बिहान १० बजे प्रमुख कार्यकारीको कार्यालयमा सम्पन्न भएको हो।
महावाणिज्यदूत लेखकलाई कन्सुल सतीश गुरुङले साथ दिएका थिए। सो अवसरमा प्रमुख कार्यकारीको निजी सचिव विकी क्वोक पनि उपस्थित थिइन्।
भेटवार्ताका क्रममा महावाणिज्यदूत लेखकले नेपाल-चीनबीचको ७० औँ कूटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा नेपाल र चीनबीचको पुरानो मित्रता र सहयोगको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले हालैको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण (डिसेम्बर २०२४) र त्यस क्रममा हस्ताक्षर गरिएका बीआरआई सम्बन्धी सम्झौताहरूले दुई देशबीचको अझ घनिष्ठ समन्वयमा मद्दत पुर्याउने धारणा राखे।
महावाणिज्यदूत लेखकले नेपाल र हङकङबीचको व्यापार तथा पर्यटन, श्रम कूटनीति र सम्पर्क (कनेक्टिभिटी) को सन्दर्भमा समेत विस्तृत चर्चा गरे। उनले नेपाली पासपोर्टधारी सामान्य नागरिकका लागि ट्रान्जिट भिसा सम्बन्धी अवस्था सुधार गर्न आग्रह गर्दै सुरक्षा क्षेत्रमा नेपालले दक्ष जनशक्ति उपलब्ध गराउन सक्ने सम्भावना उल्लेख गरे। उनले हालै नेपालका परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा भएको उच्चस्तरीय भ्रमण र आगामी दिनमा यस्ता भ्रमणहरू आवश्यक रहेको धारणा पनि राखे।
त्यसैगरी, प्रमुख कार्यकारी लीले डा. लेखकलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए। उनले नेपाल र चीनबीचको मजबुत व्यापारिक सम्बन्धको प्रशंसा गर्दै नेपाललाई पर्यटक, विशेष गरी हिमाल आरोहीहरूको लागि आकर्षक गन्तव्यको रूपमा चिनाउँदै आएको बताए। हङकङमा नेपाली समुदायको सकारात्मक छवि रहेको उनले स्मरण गरे।
प्रमुख कार्यकारी लीले हङकङमा शान्ति र स्थायित्व कायम रहँदा आर्थिक विकासमा केन्द्रित भएको जानकारी गराउँदै नेपालसँगको सहयोगका विविध सम्भावनाहरूको खोजी गर्न तत्पर रहेको धारणा व्यक्त गरे।
महावाणिज्यदूत लेखकले हङकङ प्रशासनलाई नेपाल भ्रमणको निम्तो दिँदै आर्थिक तथा श्रम कूटनीतिका क्षेत्रमा आफ्नो कार्यकाल केन्द्रित रहने जानकारी गराएको प्रशासन विशेष ब्युरोलाई बताए ।







