काठमाडौँ । मोरङ जिल्ला अदालतले यसअघि पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री विष्णु पन्थीलाई पक्राउ गर्न नपर्ने फैसला गरेको छ ।
यसअघि वादी श्याम राठी प्रतिवादी गौतमबुद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा मोरङ अदालतले २०८१ साल वैशाख ३१ मा सांसद पन्थीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
अदालतको आदेशअनुसार वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले सो अदालतमा आज धरौटीमा दाखिला गरिसकेकाले पक्राउ नगर्न प्रहरीलाई मोरङ अदालतले अनुरोध गरेको छ ।
अदालतका तहसिलदार बुद्धराज निरौलाले अदालतको चनं ३०१६ को पत्रमा प्रतिवादीहरूलाई पक्राउ नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई पत्राचार गरेका हुन् । पत्रमा काठमाडौं २९ अनामनगरस्थित गौतमबुद्ध हाइड्रोपावर प्रालिका सञ्चालक देवराज खनाल र सञ्चालक विष्णु पन्थीको नाम उल्लेख गरिएको छ ।
१० महिनाअघि आएको आदेश आइतबार मात्रै सार्वजनिक भएपछि सांसद पन्थीलाई जोगाउन यसो गरिएको भन्दै आलोचना भएको थियो ।
पन्थीका अनुसार देवराज खनालसहित ५० जनाले सञ्चालन गरेको हाइड्रोपावर घाटामा गएकाले १० वर्षअघि बन्द भएर बेचिएको थियो । कम्पनीमा कुनै ऋणीले जानकारी नदिई मुद्दा हालेको उनले दाबी गरेका थिए ।
मुद्दा दर्ता भएको र फैसला भएको आइतबार पत्रकारबाटै थाहा पाएको र त्यो विषयमा आफूलाई कुनै जानकारी नभएको उनको दाबी छ ।
अदालतको आदेशपछि सांसद पन्थीले मुद्दा दिएको कम्पनीप्रति आक्रोश पोखेका छन् ।








