काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शून्य समयमा बोल्न नाम टिपाएकी थिइन्। सभामुख देवराज घिमिरेले उनलाई समयसमेत दिएका थिए।
एमाले सांसद सुनिता बरालले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले सांसद श्रेष्ठलाई बोल्न समय दिए। तर, श्रेष्ठ मौन रहिन्। सभामुखले तीन पटकसम्म उनको नाम लिएर बोल्न आग्रह गरे पनि उनले कुनै प्रतिक्रिया जनाइनन्। अन्ततः सभामुखले माओवादी सांसद सुशिला श्रीपाली ठकुरीलाई बोल्न समय दिए।
यसअघि सोमबारको बैठकको आकस्मिक समयमा श्रेष्ठले बोल्न समय मागेकी थिइन्। सभामुखले आफूलाई बोल्न नदिएको भन्दै उनले रोष व्यक्त गरेकी थिइन्। भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे कुरा उठाउन खोज्दा सभामुखले समय नदिएको उनको गुनासो थियो।







