काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले लचिलो नीतिगत व्यवस्थालाई निरन्तरता दिँदै समग्र आर्थिक हितलाई ध्यान दिएको बताएका छन् ।
मंगलबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले आर्थिक गतिविधिमा सुधार आउने अपेक्षा रहेकाले अघिल्लो अवधिमा अपनाइएको लचिलो मौद्रिक दृष्टिकोणलाई निरन्तरता दिइएको जानकारी दिएका हुन् ।
उनका अनुसार सरकारले ल्याएको बजेट कार्यान्वयनसँगै आर्थिक गतिविधि विस्तार हुने र बजारमा रहेको तरलता क्रमशः उपयोग हुँदै जाने अनुमान गरिएको छ । तर, विप्रेषण, पर्यटन क्षेत्रबाट हुने आम्दानी तथा सरकारी खर्चका कारण थप तरलता प्रवाह हुने भएकाले वित्तीय प्रणालीमा तरलताको चाप व्यवस्थापन गर्न सकिने राष्ट्र बैंकको आकलन रहेको उनले बताए ।
गभर्नर पौडेलले तरलताको अवस्थाअनुसार उपयुक्त मौद्रिक उपकरण प्रयोग गर्ने तयारी राष्ट्र बैंकले गरेको जानकारी दिए ।
उनले नयाँ मौद्रिक नीतिले आम निक्षेपकर्ता, कर्जा लिने व्यक्ति तथा व्यवसायी र बैंक तथा वित्तीय संस्थाको हितलाई सन्तुलित रूपमा सम्बोधन गर्ने उद्देश्य राखेको दाबी गरे ।







