काठमाडैँ । सुदूरपश्चिम प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन सञ्चालन गराउने बारेमा सहमति जुट्न नसकेपछि प्रदेशसभाको बैठक पनि स्थगन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत भएको प्रदेश सरकारको बजेट कार्यक्रममा सत्तापक्ष नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसकै सदस्यको असन्तुष्टिपछि पटक पटक बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगन हुँदै आएको छ ।
प्रदेशसभा सदस्य देवराज पाठकले कार्यव्यवस्था समितिको बैठकमा पनि सहमति जुट्न नसक्दा प्रदेशसभाको बैठक पनि स्थगन गरिएको बताए ।
सरकारको नेतृत्व गरेको माओवादीको केही दिनअघि बसेको संसदीय दलको बैठकमा बजेट कार्यक्रमका पक्षमा उभिन सदस्यहरूलाई निर्देशन(ह्विप) दिइएको थियो । सहमति जुट्न नसक्दा यही असार १ गते सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट तथा कार्यक्रममाथि सदनमा अझै छलफल हुन सकेको छैन । असार मसान्तभित्र बजेट कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको, योजनाको बाँडफाँट असमान ढङ्गले भएको जस्ता गुनासोहरू सदस्यले गरेका छन् ।
सामाजिक विकासमन्त्रीलाई समेत जानकारी नदिई उक्त मन्त्रालयगत शीर्षकमा एउटै नगर क्षेत्रका मठमन्दिरका नाममा ठूलो बजेट रकम विनियोजन गरिएको गुनासो प्रदेशसभा सदस्यहरूको छ । असन्तुष्टिका बारेमा सरकारसँग बसेर छलफल नगरेसम्म र बजेट कार्यक्रमलाई परिष्कृत नगरिएसम्म यथास्थितिमै प्रदेशसभामा छलफल अघि बढ्न नसकिने अडानमा असन्तुष्ट सदस्यहरू रहेका छन् ।