सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटे « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटे


२२ पुस २०७८, बिहिबार


विराटनगर । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ । युएई बस्दै आएका रमेश मङ्गलवार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

प्रहरीले बुधबार अदालतमा उपस्थित गराएका उप्रेतीलाई बिहीबार थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले बताए।

७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए। अदालतले सुन तस्करी प्रकरणसँगै जोडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो।

मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस