काठमाडौँ। आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्यलाई पठाइएको छ ।
मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई बिहीबार विभाग पठाउने निर्णय गरेको हो ।
यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ राज मैनालीलाई पठाउन प्रक्रिया अगाडी बढाइएको भनिए पनि रिक्त रहेको महिना दिनपछि आचार्यलाई पठाइएको हो ।
सम्बन्धित समाचार : आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली
‘मैनालीलाई नै पठाउने भनिएको हो’, अर्थ स्रोतले भन्यो ‘तर सामान्य प्रशासन मन्त्रालयबाटै सहमति आउन समय लागेपछि लामो समयसम्म रोकिराख्न उपयुक्त नहुने देखिएकोले आचार्यलाई पठाइयो ।’
अर्थ मन्त्रालय अन्तर्गत रहेको विभागलाई राष्ट्रका लागि महत्त्वपूर्ण र कर्मचारीका आकर्षक अड्डाका रूपमा चिनिन्छ । विभाग नेतृत्वले इमानदारीपूर्वक आफ्नो दायित्व पुरा गरिदिने हो भने मात्रै पनि मुलुककै अर्थतन्त्रमा अर्थपूर्ण प्रभाव पार्न सक्दछ ।







