चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनसम्बन्धी एक कार्यक्रममा ‘निर्वाचन’ शब्दलाई फुलफर्म गर्दै निर्वाचन प्रक्रियामा अपनाउनुपर्ने व्यवहार, रणनीति र आचरणबारे आफ्ना धारणा राखेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले ‘निर्वाचन’ शब्दका हरेक अक्षरलाई अर्थपूर्ण सन्देशका रूपमा व्याख्या गरेका थिए। उनका अनुसार ‘नि’ ले निष्पक्षता जनाउँछ, जसले निर्वाचन प्रक्रियामा सबै पक्ष समान व्यवहार र निष्पक्ष निर्णयमा रहनुपर्ने संकेत गर्दछ।
त्यसैगरी ‘र’ ले रणनीतिक रूपमा अघि बढेर पनि लक्ष्य हासिल गर्न सकिने अवस्था जनाउने उल्लेख गर्दै उनले अनावश्यक तडक-भडक वा देखावटीभन्दा रणनीतिक सोच र संयम महत्वपूर्ण हुने धारणा राखे।
उनका अनुसार ‘वा’ ले बाधा–विरोधको राजनीतिभन्दा आफ्नै पार्टीको घोषणा–पत्र लिएर मतदातामाझ जानुपर्ने अभ्यासलाई जनाउँछ। निर्वाचनमा विरोधभन्दा नीतिगत प्रस्तुति र कार्यक्रमका आधारमा प्रतिस्पर्धा गर्नुपर्नेमा उनले जोड दिए।
‘च’ ले अत्यधिक चलखेल नगर्नुपर्ने आवश्यकता जनाउने उल्लेख गर्दै उनले निर्वाचन प्रक्रिया मर्यादित, नियमसंगत र पारदर्शी हुनुपर्ने बताए। त्यस्तै ‘न’ ले नकारात्मक विषय नउठाउनुपर्ने सन्देश दिने उल्लेख गर्दै निर्वाचनको समयमा उत्तेजना, अफवाह र नकारात्मक प्रचारबाट टाढा रहनुपर्ने धारणा व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी अर्यालले दिएको उक्त सन्देश समेटिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि निर्वाचन आयोगले पनि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सो भिडियो सेयर गरेको छ।
आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचनसम्बन्धी सन्देश, आचारसंहिता तथा सरोकारवाला निकायका भनाइ सार्वजनिक गर्दै आएको सन्दर्भमा उक्त भिडियो सेयर गरिएको हो।
अर्याल पछिल्लो समय चर्चामा आएका प्रमुख जिल्ला अधिकारीका रूपमा चिनिन्छन्। नागरिक सेवासँग नजिक भएर कार्यसम्पादन गर्ने उनको कार्यशैलीकै कारण उनले प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत जिल्लाहरूमा प्रशंसा बटुल्दै आएका छन्।







