काठमाडौँ । नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारी तीव्र पार्न पार्टीका सबै तहमा आवश्यक संयन्त्र गठन गर्न निर्देशन दिएको छ।
केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा पार्टीको चुनावी रणनीति प्रभावकारी बनाउन मातहतका संरचनालाई परिपत्र जारी गरिएको हो। परिपत्रमार्फत निर्वाचन केन्द्रित गतिविधिलाई योजनाबद्ध ढंगले सञ्चालन गर्न प्रदेशदेखि स्थानीय तहसम्म समिति र संरचना शीघ्र गठन गर्न आग्रह गरिएको छ।
बुधबार जारी परिपत्रमा सातवटै प्रदेश कार्यसमिति, सबै ७७ जिल्ला कार्यसमिति तथा १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गरिएको छ। उक्त परिपत्रमा निर्वाचन अभियानसँग सम्बन्धित एक दर्जनभन्दा बढी समितिहरूको नाम र तिनका जिम्मेवारीसमेत स्पष्ट रूपमा तोकिएको जनाइएको छ।







