काठमाडौँ । मधेश प्रदेशमा पछिल्लो समय घटेका घटनाक्रम र आगामी निर्वाचनको तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ।
गृह मन्त्रालयमा जारी छलफलमा प्रदेश प्रमुख सचिवसहित मन्त्रालयको सम्बन्धित टोली सहभागी रहेको छ । बैठकमा मधेश प्रदेशको समग्र सुरक्षा अवस्था, शान्ति–सुरक्षामा देखिएका चुनौती तथा ती समस्याको समाधानका लागि अपनाउनुपर्ने उपायबारे गहन विचार–विमर्श गरिएको प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी, आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी, सुरक्षा व्यवस्थापन र विभिन्न निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको छ ।
बैठकमा सहभागी अधिकारीहरूले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा संयन्त्रलाई चुस्त बनाउने, सम्भावित जोखिमको पहिचान गर्ने र समयमै आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








