काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् । नेपाल महिला संघले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् ।
उनले अहिलेको प्राथमिकता प्रतिनिधिसभा निर्वाचन भएको भन्दै निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताए । उनले अगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिऊँ । १५औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा गरौँ । र त्यसैको तयारीमा हामी सबै लागौँ ।’
पछिल्लो समय काँग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रीय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।







