काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल गुणस्तर तथा नापतौल विभाग, ट्याक्सी टेम्पो इकाई, बालाजुका निरीक्षक विकास ध्वन्जु लगायतमाथि दायर भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गरेको छ।
आयोगका अनुसार निरीक्षक ध्वन्जु, सहायक निरीक्षक दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्काले सेवाग्राहीसँग ट्याक्सीमा मिटर जडान गर्ने नाममा घुस असुल गरेको प्रमाणित भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार पाँच लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागसहित २०७६ सालमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको थियो।
विशेष अदालतले उनीहरूलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। तर सर्वोच्च अदालतले २०८२ साल जेठ ८ गते सफाइ दिएको थियो। सो फैसलाविरुद्ध आयोगले २०८२ साल भदौ १७ गते सर्वोच्च अदालतमै पुनरावलोकनको निवेदन दर्ता गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सर्वोच्च अदालतको अघिल्लो फैसलामा त्रुटि भएको ठहर गर्दै पुनरावलोकन माग गरिएको हो।







