काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-३ घर भएका दीपककुमार श्रेष्ठ रहेका छन् ।
बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौँबाट खटिएको प्रहरीले उनलाई बुधबार विमानस्थलबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले अनुरोध गरेको थियो ।
सोही अनुरोधको आधारमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनी विरुद्ध डिफ्युजन जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।







