काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि कडा अनुशासनात्मक कारवाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
संघको साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका राईलाई संगठनको विधानअनुसार कारवाही गर्दै पार्टी सदस्यता खारेज गर्न समेत सिफारिस गरेको हो ।
यसअघि साउन १० मा पार्टीविरोधी गतिविधि गरेको र आर्थिक अनियमितता गरेको भन्दै उनीहरूलाई निलम्बन गरेपछि पनि उनीहरूले चित्तबुझ्दो जवाफ नदिएको र नेताहरूलाई गालीगलौज गर्ने र मिडियाबाट अनर्गल प्रचार नरोकेका कारण उनीहरूलाई साधारण सदस्यबाट हटाइएको युवासंघले जनाएको छ ।
संगठनले उनीहरूलाई कुनै नेताप्रति पक्षधर भएको वा गुटगत कारणले नभई अनुशासनहीनता, ठगी, आर्थिक अपचलन र संगठन विरोधी गतिविधिका कारण कारबाही गरिएको स्पष्ट पारेको छ।
सदस्यहरूमाथि अभद्र व्यवहार, गालिगलौज र ज्यान मार्ने धम्की दिएको, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार गरेको तथा विधानविपरीत प्रदेश सचिवालय बैठक बोलाई कमिटी पुनर्गठनको प्रयास गरेको आरोप छ। उनीमाथि पटक–पटक सचेत गराउँदा पनि नमानिएको भन्दै कारबाही गरिएको हो। खरेल रुपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् ।
त्यस्तै, इलामकी युवान्तिका राईमाथि भने सरकारी कोटामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको ठगीसम्बन्धी उजुरी परेपछि कारबाही गरिएको हो। संगठनका अनुसार उनले प्रधानमन्त्रीको छोरी हुँ भन्दै विदेश पठाउने प्रलोभनमा ३ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि उजुरी र प्रमाणले गरेपछि कारबाही गरिएको हो । नागरिकता प्रकरणसमेत चितवन जिल्ला अदालतमा विचाराधीन रहेको जनाइएको छ ।







