काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारविरुद्ध सत्याग्रह बस्ने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै बर्दियाको आयोजना सुटुक्क पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा पुर्याइएको भन्दै सत्याग्रहको बस्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘अन्याय भयो सभामुख महोदय, सरकार सुन्दा पनि सुन्दैन, देख्दा पनि देखेन । बर्दियामा भएको बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेलधुरा पुर्याइयो ।’
उनले आफूले पटक पटक भने पनि सरकारले नसुनेको दुखेसो पोखेका छन् ।
उनले थपे, ‘मैले बारम्बार सदनमा भनेँ, तर सरकार सुन्दैन, यो के गर्न खोजेको ? सरकारले मेरो कुरा सुनोस् । होइन भने आफ्नै सरकारका विरुद्धमा आफ्नै सांसद पुनः सत्याग्रहको रूपमा उभिन्छु। म घोषणा पनि गर्न चाहन्छु ।’







