काठमाडौँ । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिने कर्मचारीहरूको पहिचान गरी तीन दिनभित्र प्रचलित कानुनअनुसार विभागीय कारबाही गर्न र सोको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउने चेतावनीपछि शनिबार बिदाको दिन ५०५१ फाइल फछ्र्योट गरिएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन प्रणालीमा प्राप्त निवेदनमध्ये पाँच हजार ५१ फाइल सम्पन्न भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ । बिहानैदेखि काम गरेर बेलुकी ८:१३ बजे प्राप्त विवरण अनुसार पाँच हजार ५१ फाइलको काम सम्पन्न भएको र पाँच हजार तीन सय ७९ फाइल बाँकी रहेका छन् ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवा प्रवाहमा अनियमितता, घुसखोरी र सेवाग्राहीहरूको गुनासो बढेसँगै मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई सेवाग्राहीलाई दुःख दिने कर्मचारीहरूको पहिचान गरी तीन दिनभित्र विभागीय कारबाही गरी सोको जानकारी मन्त्रालयको जनशक्ति व्यवस्थापन महाशाखामा पठाउन उद्योग सचिव कृष्णबहादुर राउतलाई पत्र काट्न भनेका थिए ।
त्यसअघि प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा छड्के अनुगमन टोली खटाई वस्तुस्थिति बुझ्न पठाइएको थियो । सो क्रममा कार्यालय प्रमुख अनुपस्थित रहेको, केही कर्मचारी कार्यकक्षमा नभेटिएको, सूचना प्रणाली मर्मतको नाममा २०८२ असार २३ र २४ गते सेवा अवरुद्ध भएको, भौतिक उपस्थिति बिना सम्पादन गर्न सकिने सेवाहरूका लागि पनि सेवाग्राहीहरूलाई कार्यालय आउन बाध्य पारिएको र सफ्टवेयर प्रणालीको स्वामित्व कार्यालयसँग नरहेको जस्ता समस्या देखिएसँगै सचिव कार्कीले उद्योग सचिव राउतलाई कडा कारबाहीसहितको चेतावनीयुक्त पत्र पठाएका थिए ।
उक्त पत्रसँगै उद्योग, वाणिज्य तथा आपूर्ति सचिव राउतले तत्काल कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र काट्दै नियमित कार्यालय समयबाहेक बिहान-बेलुका र बिदाको दिनमासमेत निर्बाध रूपमा कार्यालय सञ्चालन गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन भन्दै सहसचिवको नेतृत्वमा अनुगमन-निरीक्षण समितिसमेत गठन गरी खटाएका थिए । त्यससँगै अनेक बहानामा रोकेर राखिएका फाइलहरूको काम द्रुत गतिमा अघि बढाइएको छ भने कर्मचारीहरूसमेत केही सजग बनेका छन् । अहिले कम्पनीको नेतृत्व सहसचिव ईश्वर कुमार गिरीले गरिरहेका छन् ।
सदिऔँदेखि कमाउ अड्डाका रूपमा कहलिएको कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्रविधियुक्त बनाई फेसलेस बनाउने भनिए पनि केही कर्मचारीहरूको निहित कमाउ इन्ट्रेस्टका कारण प्रविधिकै नाममा असुली भइरहेको व्यापक गुनासो रहँदै आएको छ । केही कर्मचारी सुधारका लागि प्रयासरत रहे पनि बहुसंख्यक कर्मचारीहरूको सेटिङका कारण सुधार कार्य ओझेलमा पर्दै आएको मन्त्रालय प्रशासन स्रोत बताउँछ ।







