काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पहाडीले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरेकी छन् ।
उनले पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को बिहीबारको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आइतबारको मन्त्रीस्तरीय निर्णयबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको थियो ।
यस अघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ गतेको निर्णयबमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।